३१ जेठ २०८३, आइतबार

देवचुली नगरपालिकाले विपन्न परिवारका लागि घर बनाइदिँदै

देवचुली नगरपालिकाले विपन्न परिवारका लागि घर बनाइदिँदै

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले अतिविपन्न परिवारका लागि घर बनाइदिने भएको छ ।

नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अतिविपन्न परिवारका लागि निःशुल्क रूपमा घर निर्माण गरी हस्तान्तरण गर्ने योजना कार्यान्वयनमा ल्याएको छ । 

देवचुली नगरपालिकाभित्र रहेका १७ वडामा पहिचान गरिएका अतिविपन्न परिवारका लागि निःशुल्क घर निर्माण गर्ने योजनाअनुसार काम अघि बढेको देवचुली नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताए । चालू आर्थिक वर्षमा २५ घर निर्माण गर्ने योजनाअनुसार काम शुरू गरिएको उनले बताए ।

सबै वडामा कम्तीमा १ अतिविपन्न परिवारलाई समेट्ने गरी परिवार छनोट गरी काम अघि बढाइएको उनले जानकारी दिए ।

‘सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अतिविपन्न परिवारका लागि घर निर्माण गर्न लागिएको हो । हामीले सबै वडामा अतिविपन्न परिवार छनोट गरेका छौं, सोहीअनुसार टिनले छाएको पक्की घर निर्माण गरी हस्तान्तरण गर्ने योजना रहेको छ,’ नगर प्रमुख न्यौपानेले भने, ‘अतिविपन्न परिवारलाई राज्यले हेर्छ भन्ने अनुभूति दिलाउन यो कार्यक्रमले सहयोग पुग्ने छ, त्यस्ता परिवार सुरक्षितरूपमा घरमा बस्न समेत पाउनेछन् ।’

नगरपालिकाले २ चरणमा २५ घर निर्माण गर्ने योजना बनाएको छ । यसअनुसार पहिलो चरणमा २० घरको काम शुरू गरिएको छ । थप ५ घरको प्रक्रिया अघि बढेको नगरपालिकाका इन्जिनीयर टीकाराम बस्यालले जानकारी दिए ।

सबै वडामा १–१ वटा अतिविपन्न परिवारका लागि घर निर्माण हुनेछ । वडा नम्बर २, ४, ७, ८, ९, १२, १५ र १६ मा थप १–१ वटाका दरले गरी २५ घर निर्माण हुने उनले बताए ।

देवचुलीले चालू आर्थिक वर्षमा अतिविपन्न परिवारका लागि घर निर्माण गर्न १ करोड ५० लाख विनियोजन गरेको छ । प्रतिघर करीब ६ लाख ७५ हजारको लागत लाग्ने जनाइएको छ । नगरपालिकाले विनियोजित बजेटबाट घर निर्माणको सबै काम पूरा गरेर अतिविपन्न परिवारलाई हस्तान्तरण गर्ने इन्जिनीयर बस्यालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्