१९ असार २०८३, शुक्रबार

मह आयात रोक्न मौरीपालन व्यवसायीको माग

मह आयात रोक्न मौरीपालन व्यवसायीको माग
प्रतिकात्मक तस्वीर

स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ ।

चितवनको भरतपुरमा ‘१७औं राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरूले माग गरेका हुन् ।

कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले गत माघदेखि महको बिक्री हुन नसकेको बताए । उनले बिक्री नभएर नेपालमा अझै १ हजार ५०० मेट्रिक टन मह मौज्दात रहेको बताए ।

सोही अनुपातमा भारतबाट गुणस्तरहीन मह आयात भएको उनले जानकारी दिए । भारतबाट गुणस्तरहीन मह सस्तोमा आयात हुँदा नेपाली मह बिक्रीमा समस्या आएको उनको भनाइ छ ।
 
नेपालमा वार्षिक महको खपत ८ हजार मेट्रिक टन हुँदै आएको छ । नेपालबाट ८ मेट्रिक टन मह निर्यात समेत भएको छ । नेपालमा वार्षिक ३० करोड ३४ लाख बराबरको मह आयात हुँदा १६ करोड ८१ लाख रुपैयाँको मह निर्यात भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

नेपाल मौरीपालन महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले स्वदेशी महले बजार नपाउँदा किसान समस्यामा परेको बताए । उनले सरकारले नीतिगत पहल नगर्दा नेपाली किसानको मह उत्पादन हुन नसकेको गुनासो गरे । उनका अनुसार पछिल्लो ४ महिनामा २०० मेट्रिक टन मह आयात भएको छ ।

मौरीविज्ञ डा. शिवप्रसाद रिजालले मौरी र महको विषयमा जनचेतना जगाउन आवश्यक रहेको बताए । मौरी र पर्यावरण विषयमा कार्यपत्र पेश गरेका रिजालले मौरीले पारिस्थितिक प्रणालीलाई कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलले महको बजारीकरणका विषयमा स्थानीय तहलाई अधिकार दिएकाले जनप्रतिनिधि सक्रिय भएर लाग्नुपर्ने धारणा राखे । मह दिवसका अवसरमा नेपाल मौरीपालक महासंघ चितवनले जिल्ला प्रहरी कार्यालय अगाडि सर्वसाधरणलाई मह समेत खुवाएको थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले किसानको समस्यालाई समाधान गर्नका लागि पहल गर्ने बताए ।

उनले स्थानीय तहका प्रमुखलाई राखेर समस्याका समाधान खोजिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्