
२ वर्षअघि बस्तीमाथिबाट आएको पहिरोले एउटै गाउँमा २ जनाको ज्यान लियो । ८ घर पुरिए, दर्जन बढी घर जोखिममा परे ।
पहिरोले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए । बसाइँसराइँले अहिले गाउँ नै रित्तिएको छ ।
सोही वर्ष जैमिनी–९ पैञ्युथन्थापको पिप्लेगाउँका सबै उठ्ने गरी पहिरो खस्यो, ७ घरपरिवार जोखिममा परे । मानवीय क्षति नभए पनि अधिकांश घरको उठिबास लाग्यो । पैञ्युथन्थापकै घ्युरमा आएको पहिराले गाउँले विस्थापित बने ।
जैमिनैकै दमेक, जैदी र बिनामारेमा पहिरोले धेरै धनजनको क्षति भयो । तत्कालका लागि पहिराले पुर्याएको क्षतिको राहत त पीडितले पाए तर बाढीपहिरो, बाँदर र विकास अभावले भइरहेको बसाइँसराइँका दीर्घकालीन प्रभाव भने देखिन शुरू गरेको छ । प्राकृतिक प्रकोपका कारण भइरहेको बसाइँसराइँको एउटा ज्वलन्त उदाहरण हो जैमिनीको जनसंख्यामा आएको गिरावट ।
विक्रम संवत् २०७८ सालमा भएको राष्ट्रिय जनगणनाको तथ्यांकले यही उजागर गरेको छ ।
जैमिनीकै मुटु कुश्मीशेरामा रहेको शान्ति माध्यमिक विद्यालयको एसईई व्याच २०६४ का १०० बढी विद्यार्थीमध्ये अधिकांशले १२ कक्षा उत्तीर्ण गरेपछि जैमिनी छाडेका जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउँछन् । शान्ति माविमा जैमिनीका अधिकांश विद्यार्थीले अध्ययन गर्थे । उच्च शिक्षाका लागि घर छाडेर हिँडेकामध्ये धेरैजसो गाउँ फर्किएनन् । युरोप, अमेरिका र देशकै ठूला शहरमा पुगेकाहरू उतै बसेका उनले बताए ।
रोजगारीका अवसर गाउँमा नहुनु, कृषि पेसाले मात्रै गुजारा नचल्नु लगायत कारणले नगरको जनसंख्या घट्दो छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जैमिनीमा २ दशमलव ५३ प्रतिशत जनसंख्या ऋणात्मक रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँको जनसंख्या ३२ हजार ४६ रहेकोमा १० वर्षपछि २४ हजार ६२८ मा झरेको छ । ऋणत्मक जनसंख्या हुनेमा फलेवास नगरपालिका पनि रहेको छ ।
‘जनसंख्या धेरै घटेको पाइएको छ,’ उपप्रमुख शर्मा भन्छन् । देश बाहिरभन्दा देशभित्रै बसाइँ सरेर जाने जैमिनीमा धेरै छन् । जैमिनीका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्य बसाइँसराइँसँगै जन्मदर घट्दा जनसंख्या घटेको बताउँछन् । जैमिनीमा १ प्रतिशतभन्दा कम जन्मदर रहेको तथ्यांकले देखाएको छ ।