०८ असार २०८३, सोमबार

बाढीका कारण पुरिएको घैलाघारी तालको २ दशकपछि खोजी गरिँदै

बाढीका कारण पुरिएको घैलाघारी तालको २ दशकपछि खोजी गरिँदै

विगत २ दशकअघि राप्ती नदीमा आएको बाढीका कारण पुरिएको घौलाघारी तालको खोजी शुरू गरिएको छ । 

बाढीका कारण पुरिएर गेग्रेनमा परिणत बनेको तालको भरतपुर महानगरपालिका–२३ ले खोजी र संरक्षण कार्य शुरू गरेको हो ।

विक्रम संवत् २०५९ सालमा आएको बाढीका कारण पश्चिम चितवनको पर्यटकीय क्षेत्रका रूपमा रहेको यो ताल पुरिएको थियो । ताल पुरिएसँगै स्थानीय र सरोकारवालाको यसतर्फ ध्यान जान सकेका थिएनन् । अहिले तालको पुनर्निर्माणका लागि वडा कार्यालयले गुरुयोजना निर्माणको काम शुरू गरेको वडाध्यक्ष दीपक दबाडीले बताए ।

परापूर्वकालदेखि धार्मिक आस्थाका रूपमा रहेको ताल बाढीले पुरेसँगै संरक्षणको पर्खाइमा रहेको थियो ।

ताल पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । ३ बिघा क्षेत्रफलमा फैलिएको तालको निर्माणका लागि गुरुयोजनासँगै पुनर्संरचनाको समेत काम शुरू गरिएको उनले बताए ।

विस्तृत अध्ययन प्रतिवेदन चैत महिनाभित्र आउने गरी काम अघि बढाइएको बताउँदै दबाडीले अहिले तालको क्षेत्रफलअनुसार नक्सांकनको काम शुरू गरिएको बताए ।

बाढीले पुरेसँगै तालको खोजी नभएकाले यसलाई व्यवस्थित गर्न कठिन हुने भए पनि वडाले यसको संरक्षणलाई आफ्नो गौरवको आयोजनका रूपमा राखेर काम अघि बढाएको छ । घैला आकारमा रहेको सो तालको बीचमा मन्दिर रहेको छ । तालमा स्नान गरेर मन्दिरमा पूजा गर्दा चाहेको कुरा पूरा हुने विश्वास रहेको स्थानीय बुद्धिराम विश्वकर्माले बताए ।

तालको संरक्षणसँगै स्थानीयको जीविकोपार्जनका लागि सहयोगी बन्ने विश्वास उनले व्यक्त गरे । धार्मिक पर्यटक भित्र्याउन तालले सहयोग पुग्ने उनको विश्वास छ ।

वडाले तालको संरक्षणसहित स्थानीयको अपनत्व झल्कने खालका संरचना निर्माण गर्ने योजनामा रहेको वडाध्यक्ष दबाडीले जानकारी दिए । ताल क्षेत्रमा थारू र बोटे समुदायको बाहुल्यता रहेको छ । ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लैजाने योजना रहेको उनले बताए ।

तालको खोजीसँगै सो क्षेत्रमा तालको बीचमा मन्दिर निर्माण, पार्क, पिकनिकस्थल, माछा मार्नेस्थल, विश्रामस्थलजस्ता संरचना निर्माण गरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्