
हिमालपारिको जिल्ला मुस्ताङ कृषि उत्पादनका धेरै सम्भावनायुक्त जिल्ला हो । यहाँ उत्पादन हुने स्याउ, खुपार्नी, फापर, उवा, आलुदेखि जिम्बुलगायतका वस्तुको बजारमा निकै माग हुने गरेको छ ।
समुद्री सतहबाट २ हजार ५०० मिटरभन्दा माथि उत्पादन हुने यहाँका हरेक फलफूल, अन्न तथा जडीबुटी स्वास्थ्यवद्र्धक एवं बहुपोषणयुक्त मानिन्छ । विगतमा यहाँका उत्पादनले बजार नपाउँदा गाउँमै कुहिएर फाल्नुपरेको वास्तविकतामा स्थानीय जागरुकतासँगै गर्न थालिएको तिनीहरूको प्रशोधन तथा प्याकेजिङ यतिखेर मुस्ताङीका लागि बरदान सावित भएको छ ।
स्थानीय उत्पादन प्रशोधन तथा ब्रान्डिङमा स्थानीय पालिकाले पनि जोड दिँदै विभिन्न तालिम दिन थालेका छन् । स्थानीय उत्पादनको प्याकेजिङ तथा ब्रान्डिङका कारण यहाँका स्थानीयवासी आयआर्जजमा जोडिएको कुच्छपतोरङ्गा महिला लघु उद्यम समूह घरपझोङ्ग गाउँपालिका–५ का अध्यक्ष श्यामु थकालीले बताए ।
‘प्याकेजिङ तथा ब्रान्डिङ नहुँदा स्याउ, खुर्पानीजस्ता फलफूल कुहिएर फाल्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘अहिले भने यहाँ हुने गरेका हरेक उत्पादनलाई सुकाएर प्याकिङ तथा कतिपय जुस बनाएर बजारमा पठाउने गरेका छौं ।’
मुस्ताङमा आउँदा पर्यटकले यहाँका उत्पादनलाई कोसेलीस्वरूप लैजाने गरेको बताउँदै उनले बजारको कुनै समस्या नरहेको बताए ।
उत्पादनको ब्रान्डिङसँगै स्थानीय महिला आयआर्जनमा जोडिएको बताउँदै उनले आफूहरूको समूहमा १४ जना आबद्ध भएको बताए । उत्पादन प्रशोधनका लागि गाउँपालिकाले ५ दिने तालिम दिएको बताउँदै थकालीले त्यसयता फापरको सागको धुलो, झिलिङ्गा आदि तयार गरी बजारमा पठाउने गरेको बताए ।
ब्रान्डिङ र प्याकेजिङ नहुँदा अन्य ठाउँको उत्पादन पनि मुस्ताङको भनेर बिक्री गर्ने गरेको पाइएपछि गाउँपालिकाले यहाँको उत्पादनलाई ब्रान्डिङ गर्न थालेको स्थानीय बताउँछन् । मुस्ताङको आलुको पहिचान जोगाउन घरपझोङ्ग गाउँपालिकाले आलु ब्रान्डिङ गर्न थालेको छ ।
गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९/८० का लागि ५ वटै वडामा उत्पादित आलुको ब्रान्डिङ तथा प्याकेजिङ शुरू गरेको छ ।
स्याउका बगैंचामा आलु लगाएर यहाँका स्थानीयले स्याउ र आलु दुवैको उत्पादन लिने गरेका छन् । स्याउ, खुर्पानीजस्ता वस्तु सुकाएर प्याकिङ गर्नुका साथै यिनीहरूको जुस बनाएर पठाउने गरिएको बताउने अर्का स्थानीयवासी वित्ती थकालीका अनुसार प्रशोधनले उत्पादित वस्तु कुहिएर जाने समस्या हटेको छ ।