
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
भागबण्डाको विषयले नेपाली कांग्रेसमा विवाद चर्किएको छ । सभापति शेरबहादुर देउवाले प्रचण्ड नेतृत्वको सरकारमा इतर समूहलाई कम भाग दिएको भन्दै विवाद चर्किएको हो । देउवाले दुई वटा मन्त्रालय मात्रै दिएकोमा असन्तुष्टि जनाउँदै शेखर कोइराला–गगन थापा समूहले शुक्रबार आफ्नोतर्फबाट मन्त्री नै पठाएन ।
जसका कारण आठ मन्त्रालय पाएको कांग्रेसबाट शुक्रबार ४ जनाले मात्रै शपथ लिए । कांग्रेसमा भागबण्डाको विषयमा विगतदेखि नै विवाद हुँदै आएको छ । गुटउपगुट र भागबण्डाको विषयमा पार्टी फस्दै आएको छ ।
००००
कांग्रेसभित्रको विवादका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरे । प्रधानमन्त्री प्रचण्डको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रिहरूको नियुक्ति र शपथ गराएका हुन् । जसमा कांग्रेसका पूर्णबहादुर खड्का, डा प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङ गरी चार जना मन्त्री रहेका छन् ।
सरकारमा प्रधानमन्त्रीपछिको वरीयतामा रहने गरी कांग्रेस उपसभापति खड्का उपप्रधान तथा रक्षामन्त्री बनेका छन् ।
अर्का उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको जिम्मेवारी हेरफेर गरी भौतिक पूर्वाधारबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यसपछिको वरीयतामा क्रमशः बेदुराम भुसाल कृषि तथा पशुपन्छी, अशोक राई शिक्षा, शरत सिंह भण्डारी श्रम र डा प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् ।
कांग्रेसको भागमा परेका ४ र जनमतले राजीनामा दिएको एक गरी ५ मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले राखेका छन् । उद्योग मन्त्रालयमा दाबी गर्दै आएका जनमतका अब्दुल खानले भने बुधबार नै राजीनामा बुझाएका हुन् । उनी खानेपानी मन्त्रालयको भूमिकामा थिए ।
००००
सरकारबाट बाहिरिएपछि जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आफूहरू मन्त्री पदका लागि सत्तामा टाँसिएर बसिरहनुको औचित्य नरहेको प्रस्ट्याएका छन् ।
जनमतका तर्फबाट सरकारमा सहभागी भएका खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएपछि राउतले फेसबूकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुले भने शुक्रबार नै सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छन् ।
००००
यसैबीच प्रधानमन्त्रीले शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेपनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । नेपाली कांग्रेसको डा शेखर कोइराला–गगन थापा पक्षले मन्त्रीको नाम नदिएपछि प्रचण्डले सरकारलाई पूर्णता दिन नसकेका हुन् ।
परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय प्रचण्डले आफूसँगै राखेका छन् । यस्तै खानेपानी मन्त्रालय पनि रिक्त बनेको छ।
००००
अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रलाई राहत दिने गरी प्राथमिकता निर्धारण गरेर काम गर्ने बताएका छन् । शुक्रवार पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रलाई संकटमा जान नदिने प्रतिबद्धता जनाएका हुन् ।
अहिले असहज अवस्थामा रहेको अर्थतन्त्रलाई सहज बनाउनुपर्ने पहिलो प्राथमिकता अर्थमन्त्रीको हुने भएकाले सोहीअनुसार काम गर्ने उनको अठोट छ ।
००००
अर्थमन्त्री महतका लागि चुनौती धेरै भएपनि उनको काममा सफलता वा असmफलता निर्भर हुने निजी क्षेत्रको भनाइ छ । निजी क्षेत्रले नयाँ अर्थमन्त्रीले बजार चलायमान गराउन खेल्नुपर्ने अहम् भूमिका निर्वाह गर्नुपर्नेमा समेत जोड दिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ब्याजदर घटाउने, तरलता बढाउने र अर्थतन्त्रलाई चलायमान बनाउन भूमिका खेल्नुपर्छ भन्ने नै निजी क्षेत्रको अपेक्षा रहेको बताए । उनले भने, ‘तरलता बढाउन सरकारले विकास खर्च पूर्ण क्षमतामा गर्नुपर्ने, अहिलेको समयमा वितरणमुखी सोचाइबाट बाहिर निस्किएर विकासमुखी हुनुपर्ने पहिलो आवश्यकता देखिन्छ ।’
००००
एसईई शुक्रवारदेखि शुरू भएको छ । यसवर्षका लागि परीक्षामा सहभागी हुन २०७८ मा कक्षा ९ मा ५ लाख १६ हजार ५९१ जनाले रजिस्ट्रेशन भरेका थिए । तर, एसईई दिनका लागि ४ लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए । केही जिल्लामा सामान्य घटनाबाहेक पहिलो दिन देशभरको परीक्षा शान्त वातावरणमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
००००
सरकार र मिटरब्याजपीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता शुक्रबार निष्कर्षविहीन बन्यो । शनिबार उनीहरुले प्रधानमन्त्रीलाई नै भेटेर आफ्नो माग सुनाउन लागेका छन् । तराईबाट १२ दिन हिँडेर आएर पीडितहरुले राजधानीमा आन्दोलन गरिरहेका छन् ।
००००
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीका नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गइरहेको टिप्पणी गरेका छन् । रावल पार्टीको अनुशासनमा नबसेको र पार्टी सदस्यको कर्तव्य निर्वाह नगरेको पौडेलले बताए ।
प्रेस चौतारी नेपालले शुक्रवार कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले रावलले पार्टी अनुशासनको उल्लंघन गरिरहेको बताएका हुन् ।
००००
सरकारले आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि लिइने श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट गर्न सकिने व्यवस्था गरेको छ ।
अहिले नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट भइरहेको छ ।
००००
नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। शुक्रबार दशरथ रंगशालामा भएको फाइनल खेलमा ८७ औं मिनेटमा मनिष डाँगीले निर्णायक गोल गरेसँगै नेपाल २–१ ले विजयी भएको हो ।