२९ जेठ २०८३, शुक्रबार
सफलता

अपाङ्गताले रोक्दैन सिकाइ : यूट्युब हेरेरै उद्यमी बनेकी रेखा

चैत १८, २०७९
अपाङ्गताले रोक्दैन सिकाइ : यूट्युब हेरेरै उद्यमी बनेकी रेखा

रूपन्देहीको सैनामैनाकी रेखा राना मगरले आफ्नो जीवन सामान्य अवस्थामा फर्किने आशा मारिसकेकी थिइन् । १० वर्षकै उमेरमा दुवै कानले एक्कासी सुन्न छाडेपछि रानाले ठानेकी थिइन्, ‘समय, जीवन र रंगीन दुनियाँ सबै गुमाएँ ।’

घरपरिवार, अपाङ्गता क्षेत्रका काम गर्नेहरूले दिलाएको उनको जीवनमा सुखद दिनहरू अहिले देखिएका छन् । उनले अहिले उद्यम गरेर आफू मात्र आत्मनिर्भर भएकी छैनन्, धेरैलाई रोजगार समेत दिने बाटोमा अघि बढेकी छन् ।

विद्यालय पढ्दै गर्दा उनी बिरामी परिन् । पहिलोपटक महिनावारी भएको बेला उनलाई ठूलो ज्वरोले गाल्यो । उपचार गर्न अस्पताल पुग्दा उनको कानमा पनि समस्या देखियो । कानमा पिलो आएको जस्तो भयो । त्यसको उपचार पनि रानाले विभिन्न अस्पतालमा गराइन् तर निको भएन । कान बिस्तारै कम सुन्दै गइन्, धेरै ठाउँ धाउँदा पनि निको भएन । उनी पूर्ण रूपमा ‘बहिरोपना’को शिकार भएको अस्पतालले खुट्याएपछि तनावमा समेत गइन् ।

सानो उमेरमा नै कान नसुन्ने पीडाका कारणले उनले समाज, घरपरिवार तथा अन्य व्यक्तिसँग घुलमेल हुने, समाजसँग अन्तर्क्रिया गर्ने काम बिस्तारै बन्द भयो । घरमा यत्तिकै बसेको समयमा उनले सिलाइ सिक्ने योजना बनाइन् । घरमा नै पुरानो मशिन लिएर पहिला त फाँटेका लुगा, गाउँमा उद्र्रिएका सिलाइकटाई गर्दै उनले व्यावसायिक रूपमा हात हालेकी छन् ।

झण्डै ३ वर्ष पहिला उनले व्यावसायिक रूपमा सिलाइकटाई तालिम लिइन् । सोहीबाट उनले आफू मात्रै होइन, अरुलाई समेत रोजगारी दिन सफल भएकी छन् । अरुले भनेको नसुने पनि यूट्युबबाट हेर्दै, कोर्दै काट्दै सिक्दै गर्दा उनी बुटवलको बेलबासस्थित एक गार्मेन्ट उद्योगमा समेत काम गरिन् तर सीप भए पनि अन्य व्यक्तिहरूसँगको सञ्चार अभावको कारणले उनले त्यहाँबाट छाड्नुपर्‍यो । पूर्ण रूपमा बहिरा भएको कारणले उनले घरमा नै रेखा टेलरिङ सेन्टर स्थापना गरेर व्यावसायिक उत्पादनमा लागेकी छन् ।

‘आफैंले आफ्नो भरोसा र मेहनत गरेर २–४ पैसा पैसा कमाएर खाएको छु । दुनियाँले मेरो अपाङ्गताको मजाकमा उडाएर मेरो काम र मेहनतलाई तल नपार्दा हुन्छ,’ उनी भन्छिन् ।

सधैं रातदिन रुँदै बस्ने गर्थिन् । कोहीसँग नबोल्ने । सबैबाट टाढिँदै गइन् । सदैव एक्लो लाग्थ्यो, रोएर बस्नु, चुपचाप बस्नु उनको दिनचर्या जस्तै थियो ।

अपाङ्गता क्षेत्रका संस्थाहरूसँग नजिकिँदै गइन् उनी । ‘सबैले मलाई हौसला दिन्थे, तिमी बोल्नुपर्छ भनेर । सबैको सल्लाहले आत्मबल मिल्दै गयो । अनि म नि केही गर्न सक्छु भन्ने आँटमा पुगें । त्यसैले त मैले यो कामलाई आफ्नो आयआर्जनमा रोजें,’ उनी भन्छिन् । 

केही वर्ष अगाडिसम्म ‘द ल्याप्रोसी मिसन नेपालको फाउन्ड’ परियोजनामार्फत उनले २३ हजार ५०० रुपैयाँ पुँजीमार्फत रकम प्राप्त गरेकी थिइन् । त्यसलाई समेत उनले व्यवसायमा लगाइन् । केही समय पहिला सैनामैना नगरपालिकाको आयोजनामा भएको कुसन तथा डल बनाउने तालिम समेत उनले लिइन् । अहिले महिलाका सबै पोशाकहरू सिलाउँदै आएकी छन् । यसका अलावा कपडाको माक्स, रूमाल, हाते झोला सहितका विभिन्न पोशाक बनाएर बिक्री वितरण गर्दै आएकी छन् ।

null

कान नसुन्ने भएका कारण ग्राहकले केही झन्झटिलो मान्ने गरे पनि लेखेर, सांकेतिक रूपमा कुरा गर्दै काम गर्ने गरेको उनको भनाइ छ । शुरूआती दिनमा महिनामा २० हजारसम्मको आम्दानी गर्दै आएको बताउँदै उनले अहिले केही रकम घटेका बताइन् । मेहनत गर्ने हो भने अझ राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ ।

परिवारमा बुवाआमाको सहयोगबाट नै हालसम्म यो स्थानमा आउन सफल भएको बताउँदै रेखाले आगामी दिनमा आफूले सिकेको सीपलाई अझ विस्तार गर्ने योजना बनाएको बताउँछन् । उनी भन्छिन्, ‘अझ यसलाई विस्तार गर्दै आगामी दिनमा बृहत बनाउने सोच रहेको छ ।’

पारिवारिक सहयोगका कारण नै समाजको मूलधारमा आउन सफल भएको भन्दै उनले कानको समस्या हुँदा पनि सामाजिक क्षेत्रमा समेत क्रियाशील हुँदै आएको बताइन् । विभिन्न संघसंस्थामा समेत आवद्ध रहेकी उनले सामाजिक क्षेत्रमा समेत क्रियाशीलता बढाउँदै गएकी छन् ।

शिक्षक बन्ने ठूलो रहर थियो रेखाको तर अपाङ्गता भएपछि अहिले उनी टेलरिङमा नै खुशी छिन् ।  ‘आफ्नो हातमा भएको सीपलाई निरन्तरता दिन पाउँदा खुशी छु,’ रेखा भन्छिन्, ‘मैले सेवा दिएका मान्छेहरू मेरो सिलाइको डिजाइन मन पराउँछन्, त्यसमा झनै खुशी लाग्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्