३० जेठ २०८३, शनिबार

कागतीखेतीबाट २० लाख आम्दानी

कागतीखेतीबाट २० लाख आम्दानी

सूर्याेदयसँगै शुरू हुन्छ रुद्रमणि न्यौपानेको दिनचर्या । पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैंचाले गाउँकै सुन्दरता झल्काएको छ ।

उमेरले ४५ वर्ष टेकेका उनले २ बिघा क्षेत्रफलमा लगाएको कागती देखेरे सबैले प्रशंसा गर्दछन् ।

मोरङको पथरी शनिश्चरे–२ कालापानीमा रहेको पथरी कृषि फार्मबाट सन्तुष्ट छन् उनी । लामो समय विदेशमा परिश्रम गरेका न्यौपाने आर्थिक अवस्था परिवर्तन नभएपछि ४ वर्षअघि कृषि पेशामा फर्किएका थिए । उनलाई कागतीले यतिबेला राम्रो प्रतिफल दिन थालेको छ ।

२ बिघा क्षेत्रफल भाडामा लिएर कागती खेतीसँगै नगदे बाली गर्दै आएका छन् । यतिबेला उनको बगानमा लटरम्मै कागती फुलेका र फलेका छन् ।

बगानमा १ हजार २०० कागतीका बोट छन । फार्मले २ जनालाई रोजगारी दिएको छ । बजारको भाउअनुुसार फल बेच्नुपर्ने हँुदा कागतीको यकिन मूल्य भने छैन । फार्ममा दाना प्रतिगोटा ३ र बिरुवा प्रतिगोट ८० रुपैयाँका दरले बिक्री हुँदै आएको छ ।

उनी भन्छन्, ‘४ वर्षअघि ३२ लाख लगानीमो कागतीखेती शुरूआत गरें । अहिले उखु, साग, केराउ, प्याज, लसुन लगायतका नगदे बाली छन् ।’ बगानमा वार्षिक ७ लाख दाना र १० हजारभन्दा बढीको बिरुवा उत्पादन हुने गरेको छ । कागती र बिरुवाले राम्रो उत्पादन दिन थालेपछि धेरै टाढाका कृषकले पनि खरिद गर्ने गरेका छन् ।

बिरुवा बिक्रीबाट ८ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । कागतीको दाना र बिरुवाबाट वार्षिक २० लाख रुपैयँमाथि आम्दानी हुने गरेकोे कृषक न्यौपाने बताउँछन् ।

कागतीका बोट हुर्किंदै जाँदा क्याङ्गस र फङ्मसजस्ता रोगले निकै सताउने गरेको उनले बताए । कृषि प्राविधिक समेत रहेका न्यौपाने रोगले सताएमा बोटले राम्रो उत्पादन दिन नसक्ने बताउँछन् । उनी भन्छन्, ‘ग्रामीण भेगका यस्ता फार्मले राज्यबाट अनुदान पाउन निकै झन्झट व्यहोर्नुपरेको छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्