२९ जेठ २०८३, शुक्रबार

वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर

वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर

चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्जभित्र जंगल सफारीको अनुमति दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जंगल सफारी शुरू भएको छ ।

यससँगै चितवन राष्ट्रिय निकुञ्जभित्रको ‘कोर एरिया’मा गैंडा सहितका वन्यजन्तु अवलोकन गर्नका लागि सौराहा पुग्नुपर्ने बाध्यता हटेको हो ।

१ हप्ता अगाडि नवलपुरको शिख्रौलीमा रहेको निकुञ्जको गिद्धेनी पोस्टबाट निकुञ्जभित्र रहेको आइसल्याण्ड जंगल रिसोर्टसम्मको करीब ५५ किलोमिटर लामो पर्यटनमार्गको शुभारम्भ भएसँगै देवचुली–१७ मा रहेको पिप्रहर होमस्टेबाट जंगल सफारी थालिएकोे छ । 

बाह्य तथा आन्तरिक पर्यटकले चितवनको सौराहा पुगेर हात्ती सफारी वा जिप सफारी गरेर निकुञ्जको जंगल पसेपछि गैंडासँगै विभिन्न वन्यजन्तुको अवलोकन गर्ने गरेका थिए ।

होमस्टे होटल तथा पर्यटन व्यवसायी समितिको पहलमा २ गाडीको प्रयोग गरेर चैत १७ गतेदेखि यस क्षेत्रभित्र औपचारिक रूपमा जंगल सफारीको शुरूआत गरिएको छ । निकुञ्जको पश्चिम सेक्टरको जंगलको मध्यभागमा शुरू भएको जंगल सफारी वन्यजन्तु पारखीका लागि महत्त्वपूर्ण सावित हुने जंगल पर्यटनमार्ग निर्माण समितिका अध्यक्ष एवं पर्यटन व्यवसायी सन्तोष धिताल बताउँछन् ।

जंगल सफारीका क्रममा ३ घण्टाको समयमा १४ वटासम्म एकसिङ्गे गैंडा फेला परेका देवचुली–१७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले बताए । पिप्रहर होमस्टे नजिकै रहेको निकुञ्जको कुजौली पोस्टबाट प्रवेश गरिने यो रुट भएर जंगल सफारी गर्दा धेरैको संख्यामा एकसिङ्गे गैंडा मात्रै होइन, दुर्लभ प्रजातिको पाटेबाघ, भालु तथा धेरै संख्यामा चराचुरुङ्गीको अवलोकन गर्न पाइने भएकाले जंगल सफारी गर्नेका लागि यो मार्ग निकै महत्त्वपूर्ण हुने होमस्टे होटल तथा पर्यटन व्यवसायी समितिका अध्यक्ष प्लटप्रसाद चौधरी बताउँछन् ।

वन्यजन्तु अवलोकनका लागि अब नवलपुर र त्यसमा पनि नवलपुरको पिप्रहर नयाँ र महत्त्वपूर्ण गन्तव्य बन्ने तथा यसले सिंगो नवलपुरको पर्यटन तथा आर्थिक गतिविधिलाई माथि उठाउने उनको भनाइ छ ।

पहिलो दिनकै सफारीमा १४ सम्म गैंडा देखिएपछि उत्साहित भएका यस क्षेत्रका पर्यटन व्यवसायी सफारीमा प्रयोग गरिने जीपको संख्या बढाउने तयारीमा जुटेका छन् । अहिले भएका २ वटा जीप होमस्टे सञ्चालक र पर्यापर्यटनसँग जोडिएका होटलहरूले सामूहिकरूपमा खरिद गरेर सञ्चालन गरेका छन् । 

जीप खरिद मात्रै होइन, सफारीबाट आएको आम्दानी समेत समितिमार्फत लगानीका आधारमा व्यवसायीलाई बाँडिने गरेर सामूहिक अवधारणामा जंगल सफारीको शुरूआत गरिएको पर्यटन व्यवसायी सन्तोष धितालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्