३१ जेठ २०८३, आइतबार

व्यापारिक केन्द्र बन्दै मेलौली

चैत १९, २०७९
व्यापारिक केन्द्र बन्दै मेलौली

कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासको कामले गति लिएपछि आत्मनिर्भर बन्दै गएको छ ।

तल्लोस्वराडमा मेलौली नगरपालिकासहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका छन् ।
   
पाटन–पञ्चेश्वर सडक सञ्चालन भएसँगै विकासको कामले गति लिँदै गएपछि यहाँको मुहार फेरिन थालेको हो । सडक सञ्जाल विस्तार हँुदै गएपछि मेलौली बजार व्यापारिक केन्द्रका रूपमा समेत विकसित हुँदै गएको छ । सडक पुगेसँगै मेलौली बजार तल्लोस्वराडकै व्यापारिक केन्द्रका रूपमा अगाडि बढ्दै गएको स्थानीय व्यापारी मोहन सिंहले बताए ।

उनले भने, ‘एकदशक अगाडिसम्म देहिमाडौं, पाटनबाट खच्चर र घोडामा दैनिक उपभोग्य सामान ल्याइन्थ्यो, हाल भने सडक विस्तार भएर मेलौलीमै बजार बनेको छ ।’
 
पञ्चेश्वर सडक मेलौली बजारसम्म कालोपत्र भइसकेकाले पनि यहाँ झनै चहलपहल बढेको छ । यहाँबाट दैनिकरूपमा तराईसम्म सिधै बस सेवा समेत जारी छ । यसका साथै पाटन, सदरमुकामसम्म पनि दैनिक जीप सञ्चालनमा छन् ।

मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र, क्याम्पस, विद्यालय सञ्चालनमा छन् । ईलाका प्रहरी चौकी, स्थानीय सञ्चारमाध्यम पनि सञ्चालनमा रहेका छन् । मेलौलीमा प्रसिद्ध मेलौली भगवती मन्दिर समेत रहेको छ ।
  
विकासको पहिलो पूर्वाधार मानिने सडक सञ्जाल पुगेसँगै मेलौली व्यापारिक केन्द्र बनेको स्थानीय होटल व्यवसायी विजु नायकले बताए । सडक सञ्जाल विस्तारले व्यापार व्यवसाय बढेको र यसले यहाँको आर्थिक उन्नतिमा टेवा पुगेको छ ।

उनले भने, ‘तल्लोस्वराडका अन्य पालिकामा कुनै कामको सिलसिलामा आएका कुनै पनि मान्छे मेलौलीमा बास बसेर जाने गरेका छन् । मेलौली व्यापारिक केन्द्रका रूपमा स्थापित भएको छ ।’

दशरथचन्द राजमार्गको पाटनबाट पञ्चेश्वर जोड्ने सडकको ३५ किलोमिटरको दूरीमा मेलौली बजार रहेको छ । 

विकासका दृष्टिले पहिलेको मेलौली र अहिलेको मेलौलीमा धेरै अन्तर देखिएको स्थानीय प्रेम चन्दले बताए । बजार विस्तारसँगै अहिले मेलौलीमा सबै किसिमका सामान उपलब्ध हुन थालेका छन् । उनले भने, ‘सडक विस्तारले पहिलाको तुलनामा धेरै विकास भएको र नागरिकको जीवनशैलीमा परिवर्तन आएको छ । सडक, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा भइरहेका विकासले पहिलेको भन्दा अहिले आर्थिक क्रियाकलापमा वृद्धि हुँदै गएको छ ।’
  
तल्लोस्वराड क्षेत्रमा सडक नपुग्दासम्म यहाँका नागरिक भारतीय बजारमा मात्रै निर्भर रहेकामा अहिले भने त्यो बाध्यता हट्दै गएको शिवनाथका स्थानीय वीरेन्द्र महताले बताए । उनले भने, ‘दैनिक उपभोग्य सामग्री किन्न समेत भारत जाने यहाँका नागरिक सडक पुगेसँगै अहिले सहजै यहाँ पाइने गरेको छ । सडकले यही बजार विस्तार हुन थालेका छन्, भारतमाथिको निर्भरता हटाएको छ ।’

शिक्षा र औषधोपचारका लागि पनि भारतकै भर पर्ने नागरिक सडक विस्तारले उक्त बाध्यताबाट पनि मुक्त भएका मेलौली प्राथमिक स्वास्थ केन्द्रका प्रमुख मुकेशकान्त दयालले बताए । उच्च शिक्षा तथा सामान्य उपचारका लागि भारतीय अस्पतालमा पुग्नुपर्ने स्वराडवासीलाई अहिले सडक पुगेपछि तल्लोस्वराडमै पाउन थालेका छन् ।

उनले भने, ‘सडक नपुग्दा बिरामी हुँदा बाहिर जानुपरेमा निकै समस्या हुने गरेको थियो, अहिले स्वास्थ्य सेवा पाउन पनि सहज भएको छ ।’

यसका साथै सदरमुकाम आउन समेत भारतको बाटो प्रयोग गर्ने तल्लोस्वराडका नागरिकलाई अहिले भने  सहजैरूपमा आवातजावत गर्न सहज भएको छ । देश संघीय संरचनामा गइसकेपछि दुर्गम भनेर चिनिने  तल्लोस्वराडमा विकासले फड्को मारेको हो । स्थानीय जनप्रतिनिधिले पनि विकासको मेरुदण्ड सडक भएकाले यसलाई प्राथमिकतामा राखेका छन् । 

सडक नहुँदा २ दिन लगाएर सदरमुकाम पुग्ने नागरिक हाल भने १ दिनमै पुग्ने गरेका छन् ।

सडक सञ्जाल विस्तारले यहाँको मुहार नै फेरिएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए । १ दशक अगाडिसम्म पनि सडक पुग्न नसकेको तल्लोस्वराडमा हाल भने अधिकांश गाउँमा सडक विस्तार भएको छ । उनले भने, ‘पाटन–पञ्चेश्वर सडक नियमितरूपमा सञ्चालन भएसँगै यहाँ चहलपहल पनि बढेको छ । सडक सञ्जाल विस्तारले तल्लोस्वराड क्षेत्र विकासको बाटोमा लम्किनुका साथै जीवनशैलीमा पनि परिवर्तन आएको छ ।’ 

पाटन–पञ्चेश्वर सडकको मेलौलीसम्म कालोपत्र भएको र  मेलौलीबाट पञ्चेश्वरसम्मको सडकखण्डमा पनि कालोपत्रको काम भइरहेको छ । तल्लोस्वराड क्षेत्रमा सडक विस्तार भए पनि विद्युत् भने पुग्न सकेको छैन । सञ्चार सेवा पनि भरपर्दो छैन । – विनोदसिंह विष्ट/रासस

salt training

कमेन्ट गर्नुहोस्