
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी अन्जन श्रेष्ठलाई जिताउन नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले सर्वसम्मत रूपमा समर्थन गर्ने निर्णय गरेको छ ।
शनिबार पोखरामा बसेको प्रदेश समितिको बैठकले श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उम्मेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको हो।
पोखरा उद्योग वाणिज्य संघको प्रस्तावमा र प्रदेश महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा बसेको पहिलो बैठकबाट उक्त निर्णय भएको हो।
उक्त बैठकमा गण्डकी प्रदेश समितिका सम्पूर्ण सदस्यहरू, पोखरा उद्योग वाणिज्य संघका साथै लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही जिल्ला नगरका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

सर्वसम्मत उम्मेदवार घोषणा भएसँगै वरिष्ठ उपाध्यक्षका प्रत्यासी श्रेष्ठले आफ्नो उम्मेदवारीलाई सबै सदस्यहरूले सर्वसम्मत रूपमा सहयोग गर्ने घोषणा गरेकोमा धन्यवाद दिए।
कार्यक्रममा श्रेष्ठले उद्योगीहरूको समस्या र चुनौतीहरूलाई समाधान गर्न आफू लागिपर्ने विश्वास दिलाए।
‘गण्डकी प्रदेशका उद्योगी साथीहरूले मलाई सर्वसम्मत उम्मेदवार बनाउनु भएकोमा धन्यवाद दिन्छु । उहाँहरूको भावनालाई कदर गरेर आगामी दिनमा उद्योगी व्यवसायीहरूले भोगिरहेका समस्या समाधान गर्न निरन्तर पहल गरिरहनेछु’, श्रेष्ठले भने ।
यही चैत २८ र २९ गते आयोजना हुने नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ ।