
संविधानसभा सदस्य समेत रहेका अधिवक्ता खिमलाल देवकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने उम्मेदवार बन्न अयोग्य रहेको दाबी गरेका छन् ।
संविधानको धारा २९१ मा गैर आवासीय नेपाली नागरिकता अथवा कुनै देशको विदेशी नागरिकता परित्याग गरेको व्यक्तिले नियुक्ति, मनोनयन र निर्वाचन ३ वटा कामका निमित्त कम्तीमा तीन महिना व्यतीत नभई योग्य नहुने व्यवस्था गरेकाले रवि उम्मेदवार बन्न नसक्ने उनले बताए ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानूनबमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले माघ १३ गते शुक्रवार लामिछानेको सांसद पद खारेज गरेको थियो । त्यसपछि लामिछानेले गत माघ १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएका थिए ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै संविधानविद् देवकोटाले उम्मेदवार बन्न रवि अयोग्य रहेको बताएका हुन् ।
‘हाम्रो संविधानले धेरै प्रकारको नागरिकताको व्यवस्था गर्यो । वंशजको नागरिकता, जन्मसिद्ध नागरिकता, गैरआवासीय नेपाली नागरिकता, अंगीकृत नागरिकता, सम्मानार्थ यस्ता विभिन्न प्रकारका नागरिकताको व्यवस्था गरिएको छ । तीमध्ये गैरआवासीय नेपाली नागरिकका निम्ति राजनैतिक अधिकारबाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्त गर्न नागरिकताको प्रमाणपत्र प्राप्त गर्नसक्ने भन्ने बन्दोबस्त गरियो, यसैसँग सम्बन्धित गरेर संविधानको धारा २९१ मा नियुक्तिका लागि योग्य नहुने भन्ने शीर्षक अन्तर्गत गैर आवासीय नेपाली नागरिकता अथवा कुनै देशको विदेशी नागरिकता परित्याग गरेको व्यक्तिले नियुक्ति, मनोनयन र निर्वाचन ३ वटा कामका निमित्त कम्तीमा तीन महिना व्यतीत नभई योग्य हुँदैन’, देवकोटाले भने, ‘गैरआवासीय नेपाली नागरिकलाई राजनीतिक अधिकार त हुँदैन नै, तर त्यो आवासीय नागरिकता त्यागेको तीन महिना कुलिङ पिरियडका रुपमा संविधानले राखेको छ । यसको परिपालनाको अपेक्षा संविधानले गर्छ ।’
हेर्नुहोस् संविधानको धारा २९१ को व्यवस्था

वैशाख १० गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि (सोमवार) उम्मेदवार मनोनयन दर्ताको निर्वाचन कार्यतालिका छ ।
लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । यसअघि उनी मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन २ बाट निर्वाचित भएका थिए । सर्वोच्चले नागरिकतामा अयोग्य ठहर गरेपछि उनको पद गएको थियो । सोही ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।