
उपनिर्वाचन हुन लागेका देशैभरका निर्वाचन क्षेत्रका बागी उम्मेदवारहरूलाई गरिएको कारबाही फुकुवाप्रति नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
तनहुँमा आयोजित नेपाली कांग्रेस स्वतन्त्र अभियान नामक एक कार्यक्रममा जोशीले सम्बन्धित मानिससँग सल्लाह नै नगरी एकलौटी रूपमा गरिएको निर्णयलाई हरहालतमा आफू मान्न तयार नरहेको जनाएका छन्।
यस निर्णयले आफू र नेपाली कांग्रेस पार्टीलाई सकाउने उनले तर्क गरेका छन्।
जालझेलको भाषा अझै प्रयोग गर्ने सम्भावना रहेको उनले बताए। नेपाली कांग्रेस सही बाटोमा आउनुपर्ने भन्ने आफूहरूको आन्दोलन भएको पनि उनले बताएका छन्।
उनले लेखेका छन्, 'विगतका वर्षमा मैले जे जति भोगेको छु त्यसको श्रेय नेपाली काङ्ग्रेसलाई सक्काउन लागि परेका केही राजनितिज्ञहरूलाई जान्छ। १० औँ हजार कार्यकर्ताको मतलाई बेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारवाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो,यो सरासर गलत हो। यसप्रति मेरो घोर आपत्ति छ।'
जोशीले यो समस्या समाधानका निम्ति पटकपटक वार्ता टोली गठन गरी वार्ताको प्रयास गर्दा पनि पार्टीले बेवास्ता गरेको पनि आरोप लगाएका छन्। 'सम्पूर्ण प्रयासका बाबजुद पनि वार्ताको वातावरण समेत नबनाउने, पार्टीमा सैद्धान्तिक विचलन ल्याउनेहरूबाट यसरी जनतालाई दिग्भ्रमित गर्ने गरिएको निर्णयको जति आलोचना गर्दा पनि कम हुन्छ,' उनले लेखेका छन्।
पार्टीको यस निर्णय चुनावको मुखमा मञ्चन गरिएको चुनावी रणनीति मात्र भएको भन्दै यसबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट विचलित नहुन उनले आग्रह गरेका छन्।
प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत गएको मंसिरमा भएको निर्वाचनमा पार्टीबाट विद्रोह गरी बागी उम्मेदवारी दिनेहरूलाई कांग्रेसले कारबाही गरेको थियो। आज भने कांग्रेसले देशभर हुने ३ वटा उपनिर्वाचन क्षेत्रमा रहेका बागीहरूको कारबाही फुकुवा गरेको थियो।