
मुस्ताङमा स्याउ संकलन तथा चिस्यान केन्द्र बन्ने भएको छ ।
स्याउको राजधानीको रूपमा परिचित मार्फामा पर्याप्त मात्रामा स्याउ भण्डारण गर्नका लागि १ करोड ४१ लाख लागतमा संकलन तथा चिस्यान केन्द्र बन्न लागेको हो ।
घरपझोङ गाउँपालिका–२ सामग्री टोल नजिकै बन्ने केन्द्रको निर्माण तत्काल शुरू गरिने फलफूल तथा स्याउ ग्रेडिङ मशिन उपभोक्ता समितिका सचिव सकबहादुर लालचनले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष ०७९/८० को लागि केन्द्रका लागि गण्डकी प्रदेश कृषि विकास निर्देशनालयबाट १ करोड ४१ लाख विनियोजन गरिएको छ । सरकारको ८५ र कृषकको १५ प्रतिशत अनुदानमा यसको निर्माण हुनेछ ।
चिस्यान केन्द्र बनेसँगै स्याउको पकेट क्षेत्र थासाङ गाउँपालिका–१ टुकुचे– झोङोदेखि घरपझोङ गाउँपालिका अन्तर्गतका गाउँ मार्फा, धमाङ, सबि, चिमाङ, छैरो, तिब्बतीयन क्याम्प, शीतोष्ण बागवाणी केन्द्र, स्याङ, जोमसोम, ठिनी, ढुम्बा आदि लाभान्वित हुनेछन् । यी ठाउँमा व्यक्तिगत एकाध ठाउँबाहेक हालसम्म ‘कोल्ड स्टोर’ बनेका छैनन् ।
मुस्ताङमा ठूलो लगानीमा बन्न लागेको चिस्यान केन्द्र पहिलो भएको सचिव लालचनले बताए । पछिल्लो समय जिल्लामा स्याउ भण्डारणको लागि प्रदेश सरकार र अन्य निकायबाट जे जति पहल भए पनि पर्याप्त मात्रामा चिस्यान केन्द्रको अभाव रहेको कृषक बताउँछन् ।
यसअघि जिल्लामा भित्रिएका प्रायः चिस्यान केन्द्र आम सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको घरपझोङ गाउँपालिका–१ छैरोका कृषक सिंहराज लामाले बताए । अहिले ती चिस्यान केन्द्र पनि कतिपय प्रयोगविहीनै जस्तै देखिएका उनको भनाइ छ ।
बनेका कतिपय चिस्यान केन्द्र उचित स्थानमा पनि नबनेका कारण भण्डारणमा समेत समस्या पर्ने गरेको जनाइएको छ ।
ठूलो क्षमताको चिस्यान केन्द्र निर्माण हुने भएसँगै यहाँका कृषक उत्साहित बनेका छन् । चिस्यान केन्द्रमा भण्डारण गरी बेमौसममा पनि बिक्री वितरण गरी राम्रो मूल्य आर्जन गर्न सकिने भएकाले यो अत्यन्तै लाभदायक बन्ने कृषक सिंहरमज लामाले बताए ।