०५ साउन २०८३, मंगलबार

चितवन–२ उपनिर्वाचनमा जीतनारायणलाई भोट दिन दिनेश कोइरालाको अपिल

चितवन–२ उपनिर्वाचनमा जीतनारायणलाई भोट दिन दिनेश कोइरालाको अपिल

नेपाली कांग्रेसको केन्द्रीय सदस्य त्यागेर मंसिर ४ गतेको निर्वाचनमा चितवन–३ बाट उम्मेदवार बनेका दिनेश कोइरालाले कांग्रेस उम्मेदवारका लागि भोट मागेका छन् ।
 
कोइरालाले विज्ञप्ति जारी गर्दै चितवन–२ मा उम्मेदवार बनेका कांग्रेसका जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा उम्मेदवार बनेका गोविन्द भट्टराईका लागि भोट मागेका हुन् । 

‘नेपालको राजनीतिक, सामाजिक, धार्मिक, आर्थिक वातावरण सजिलो बाटोमा गइरहेको छैन । अर्थतन्त्रमा सबैभन्दा बढी समस्या देखिएका छन् । कांग्रेसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन अगुवाइ गर्नुपर्छ,’ उनले भनेका छन्, ‘तनहुँमा उम्मेदवार बनेका गोविन्द भट्टराई र चितवनमा उम्मेदवार बनेका जीतनारायण श्रेष्ठ प्रतिनिधि सभामा पुग्नैपर्ने सशक्त उम्मेदवार हुन् ।’

चितवन कांग्रेसका प्रभावशाली नेता कोइरालामाथिको कारबाही कांग्रेस केन्द्रले आइतवार मात्रै फुकुवा गरेको थियो । 

कोइरालाले मंसिर ४ गतेको निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । कांग्रेसले माओवादीका डा. भोजराज अधिकारीलाई सघाएको क्षेत्रमा स्वतन्त्रबाट उम्मेदवारी दिँदै १२ हजार २७५ मत ल्याएका थिए । उनकै उम्मेदवारीका कारण माओवादी उम्मेदवार पोखरेल राप्रपाका विक्रम पाण्डेसँग ९ हजार २३६ मतान्तरले पराजित हुन पुगेका थिए ।

मंसिर ४ गते उनलाई एमालेले पनि चितवन–३ मा सघाउँदै रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएको थियो तर उनै न्यौपाने यतिखेर चितवन–२ मा उम्मेदवार बनेका छन् ।

चितवन–२ बाट जितेका रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको छ । 

उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेले उम्मेदवारी मनोनयन गराउँदैछन् । फरक निर्वाचन क्षेत्र भए पनि चितवनको राजनीतिमा कोइराला प्रभावशाली मानिन्छन् । 

वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमवार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्