
आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् ।
सोमवार बिहान १० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा सीता ज्ञवाली र समर्थकमा विक्रम श्रेष्ठ छन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले निर्वाचन स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा होस् भन्ने चाहना रहेको बताए ।
प्रतिनिधिसभाको निर्वाचन भएको चार महिनापछि निर्वाचन हुनु दुःखद् भएको उनको भनाइ छ । आफू निर्वाचनका लागि उत्साहित भएको उनको भनाइ थियो ।
निर्वाचनलाई निर्वाचनकै रूपमा लिएको बताउँदै उनले आफू निर्वाचित हुनेमा आशावादी र उत्साहित रहेको बताए ।
मुलुकको समृद्धि, सुशासन, राजनीतिमा एउटा शुद्धता, आगामी पुस्ताको सुन्दर भविष्य कोर्न तथा लोकतन्त्रका लागि आफ्नो उम्मेदवारी रहेको उनको दाबी छ ।
लामिछानेले उपचुनाव हुनुमा आफूले पनि नैतिक जिम्मेवारी लिने बताए । 'उपचुनाव हुनुमा मेरो भागमा परेको जिम्मेवारी म लिन तयार छु', उनले भने ।
नागरिकता प्रकरणमा आफू उम्मेदवार हुन नपाउने भन्ने तर्क गलत भएको भन्दै उनले भने, 'मैले अमेरिकाको नागरिकता सन् २०१८ मै त्यागेको हो । संविधानमा त्यसरी त्यागेको मितिले तीन महिना भनेकाले त्यसले मलाई असर गर्दैन ।'
उपनिर्वाचनका लागि चितवन क्षेत्र नं २ मा उमेदवारी दर्ता गर्ने उनी पहिलो भएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।
लामिछाने यसअघि गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।
नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाले उनको सांसद पद गुमेपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
गत चुनावमा लामिछानेले ४९ हजार दुई सय ६१ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा (एमाले)का कृष्णभक्त पोख्रेलको १४ हजार छ सय ४९ मत प्राप्त गरेका थिए ।
चितवन क्षेत्र नं २ मा यसपटक एक लाख २४ हजार छ सय ९५ जना मतदाता छन् । उनीहरूले ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गर्नेछन् ।