
जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित पीपलटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानी ट्यांकीमा महिलाको शव भेटिएपछि वैकल्पिक खानेपानीको व्यवस्था गरिएको छ ।
सोही वडाको ढाडखोला मुहानबाट ल्याइएको पानी ट्यांकीमा सङ्कलन गरी वितरण हुँदै आएकामा अहिले सिधै पाइपबाट बस्तीमा पानी वितरण गरिएको हो ।
नौवटा धाराबाट एक सय ३८ घरधुरीमा वैकल्पिक किसिमले पानी वितरणको व्यवस्था मिलाइएको पीपलटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सन्देश अधिकारीले जानकारी दिए ।
गण्डकी प्रदेशका खानेपानी मन्त्रालयबाट रू. तीन लाख ७० हजार बराबरको खानेपानी पाइप तत्काल उपलब्ध भएपछि पानी वितरणमा सहज भएको उनले बताए ।
दुई लाख २५ हजार घनमिटर क्षमताको खानेपानी ट्यांकीमा महिलाको शव भेटिएपछि केही दिन पानीको समस्या भएको थियो ।
पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षीया शान्ति श्रेष्ठको शव यही चैत १२ गते बिहान खानेपानीको ट्यांकीमा मृत अवस्थामा भेटिएको थियो ।