
निजी क्षेत्रको उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी तातेको छ ।
आगामी साता (चैत २८ र २९) मा हुने महासंघको ५७ औं वार्षिक साधारण सभासँगै नयाँ कार्यासमितिका लागि चुनाव हुने भएको छ ।
महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल अध्यक्ष हुनेछन् भने उनको टीमभित्र बसेर काम गर्ने गरी उपाध्यक्षसहितको नयाँ कार्यसमिति भने चुनावबाट चयन हुने छ ।
निजी क्षेत्रको अर्को छाता संस्था नेपाल उद्योग परिसंघ (सीएनआई)ले पनि २ साताअघि मात्रै वेटिङ प्रसिडेन्टका लागि उपाध्यक्ष छनोट गरेको छ । परिसंघले सधैँ सर्वसम्मत नयाँ नेतृत्व चयन गरिरहेको छ भने निजी क्षेत्रको अर्को ठूलो संस्था महासंघमा भने नयाँ कार्यसमिति चयनमा शक्ति प्रदर्शन र खर्चमा प्रतिस्पर्धा हुने गरेको छ ।
महासंघमा यसपटक ३ वटा प्यानल वरिष्ठ उपाध्यक्षको लागि तयार भएको छ । महासंघमा पहिलोपटक ३ वटा प्यानल नेतृत्वका लागि भिड्दैछन् । महासंघको विधानअनुसार नेतृत्वमा पुग्ने व्यक्ति अर्थात् वरिष्ठ उपाध्यक्षले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने छ ।
यसअघि भवानी राणा वरिष्ठ उपाध्यक्ष भएको बेला परिवर्तन भएको विधानले उपाध्यक्ष अध्यक्ष हुने प्रावधान राख्यो ।
त्यसैअनुसार राणा महासंघको अध्यक्ष भइन् । त्यसपछि आएका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघका अध्यक्ष भएका छन् ।
हालका उपाध्यक्ष चद्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गरेर आएकोले अब उनि आगामी ३ वर्षे कार्याकालयका लागि अध्यक्ष चयन हुँदा वेटिङ प्रेसिडेन्टका लागि ३ जना (उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ)ले प्रतिस्पर्धा गर्ने भएका छन् । वरिष्ठ उपाध्यक्षसँगै तीन जना उपाध्यक्षसहितको प्यानल बनाएर चुनावी प्रतिस्पार्धा महासंघमा हुने गर्छ ।
महासंघको आगामी नेतृत्वका लागि उमेशलालको प्यालनमा जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ, वस्तुगत तर्फ हेमराज ढकाल र एशोसिएट तर्फ भरतराज आचार्य उपाध्यक्षका उम्मेदवार भएका छन् । उमेशलालको प्यानल सोमावार मात्रै घोषणा भएर चुनावी मैदानमा उत्रिएको छ ।
यस अघि रामचन्द्र संघइको नेतृत्वको प्यानल आइवार नै घोषणा भएको छ । उनको प्यानलको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगतमा सकुन्तला हिराचन रहेका छन् ।
एशोसिएन उपाध्यक्ष ज्योत्सना श्रेष्ठ छिन् । श्रेष्ठले भने अर्को प्यानलबाट उम्मेवारी सार्वजनिक सार्वजनिक गरेर संघईको प्यानलबाट भएकी छन् ।
उनले यसअघि ३० फागुनमै अञ्जन श्रेष्ठको आफ्नो प्यानल चिनाउँदा ज्योत्सनालाई एशोसिएन उपाध्यक्षका रूपमा प्यानलका उपाध्यक्षको नाम सार्वजनिक गरेका थिए । ज्योत्सनाले अञ्जनको प्यानलबाट चुनाव लड्ने भने पनि त्यताबाट जित्ने अपेक्षा नभएको प्रतिक्रिया दिएर जित्ने प्यानलबाट उम्मेदवारी दिएको घोषणा पनि गरेकी छन् ।
महासंघमा उम्मेदवार नै खोसाखोसको अवस्था देखिएको छ । जसको कारण अञ्जनको प्यानलबाट एशोसिएट् उपाध्यक्ष नै नउठाउने वा अर्को खोज्ने भन्ने निर्णय भइसकेको छैन । अञ्जनको प्यानलमा जिल्ला नगरमा अरुणकुमार सुमार्गी र वस्तुगतमा मनिसलाल प्रधान उपाध्यक्ष पदका उम्मेदवार छन् ।
वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशललाल श्रेष्ठले महासंघको विधान अनुसार ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भए पनि आफूले अरूभन्दा बढी मत ल्याएर पहिलो प्रयासमै जीत हासिल गर्ने बताएका छन् ।
उनका अनुसार बलियो टिम घोषणा गरेको र महासंघको आगामी कार्यसमितिमा काम गर्न आफ्नो समूह योग्य रहेकोले आफ्नै समूहले जित्नेमा ढुक्कको अवस्था रहेको पनि श्रेष्ठले लोकान्तरसँग बताए।
श्रेष्ठकै समूहबाट जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ प्रजातान्त्रिक अभ्यास अनुसार निर्वाचन हुने भएकोले सबैले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्न पाउने बताए ।
देशैभरका उद्योगी व्यवसायी आबद्ध महासंघले गर्ने काम र यसको आकर्षणले गर्दा चुनावी प्रतिस्पर्धा बढेको बुझाइ उनको छ ।
जिल्ला नगरका उपाध्यक्षका प्रत्यासी श्रेष्ठका अनुसार पहिलोपटक महासंघको उपाध्यक्षमा ३ जनाको प्यानल बनेको हो । विधानले गरेको व्यवस्थाअनुसार पहिलो पटकमै ५० प्रतिशतभन्दा बढी मत कुनै एक वरिष्ठ उपाध्यक्षले नल्याए दोहोर्याएर चुनाव हुन्छ । यसलाई सामान्य प्रजातान्त्रिक प्रतिस्पर्धा भन्ने गरिएको पनि उनले बताए ।
सबै उद्योगी व्यवसायीको आबद्धता र सहकार्य हुनुपर्छ भनेर प्रयास गरिरहेको भए पनि प्रतिस्पर्धा गर्नबाट भने कसैलाई रोक्न नसकिने बताइएको छ ।
२ वटा प्यानल मात्रै होस् भन्दाभन्दै पनि यसपटक ४ वटा प्यानल भएको महासंघका एक पूर्वअध्यक्षले बताए।
यसअघिको कार्यसमिति चयन गर्दा कोरोना महामारी समय थियो । त्यतिबेला सर्वसहमति गर्न नसकेर प्रतिस्पर्धा भएको महासंघमा यो पटक ३ वटा प्यानल बन्नुलाई सामान्य लिनुपर्ने महासंघका उनले बताए। उनका अनुसार सक्षम नेतृत्व चयन गर्न र प्रजातान्त्रिक अभ्यासअनुसार नेतृत्व चयन हुनुलाई राम्रो पनि मान्नुपर्छ ।
अर्थतन्त्रमा तरलता अभाव भइरहेका बेला व्यवसायीले भने नेतृत्वकै लागि पैसा र शक्ति खर्च गरिरहेका छन् । थिति बसाउनुपर्ने निजी क्षेत्रमै चुनावी प्रतिस्पर्धाको बेथिति हुनुलाई भने राम्रो मान्न नसकिने बुझाइ पनि यस क्षेत्रकै जानकारहरूको छ ।