१२ साउन २०८३, मंगलबार

रविप्रति गोकुलको कटाक्ष : के सित के साटेर सत्तामा टाँसिएको ? आँट रैछ ? हिम्मत रैछ ?

रविप्रति गोकुलको कटाक्ष : के सित के साटेर सत्तामा टाँसिएको ? आँट रैछ ? हिम्मत रैछ ?

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राहदानी दुरूपयोगको विषयमा छानबिन नहोस् भनेर सत्तासँग टाँसिएको टिप्पणी गरेका छन् ।

चर्का कुरा गरे पनि लामिछानेसँग हिम्मत नभएको जिकिर उनले गरे ।

सोमवार चितवनमा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्तापछिको सभालाई सम्बोधन गर्दै बास्कोटाले लामिछानेले सरकारसँग सौदाबाजी गरेको आरोप लगाएका हुन् ।

‘यो निर्वाचन हामीले चाहेको होइन, कसैको कानूनी कमजोरीका कारणले यो मौका प्राप्त भयो । धन्यवाद ! गल्ती गरेपछि त्यस्तै हुन्छ । सत्य बोल्नु पर्दथ्यो,' रवितर्फ लक्षित गर्दै बास्कोटाले भने, 'के सित के साटेर सत्तामा टाँसिएको ? आँट रैछ ? हिम्मत रैछ ? त्यसैले चर्का कुराको काम छैन ।’ 

चितवन टुरिस्ट उम्मेदवारबाट पीडित रहेकोमा यसपटक केही परिवर्तन आएको बास्कोटाले बताए ।

‘यो तपाईंको छोरो हो, माटोको देन हो । तपाईंहरूका लागि त्यसले मात्र योगदान गर्न सक्छ, जसले यो माटोमा पसिना बगाएको छ,’ उनले भने ।  

रवि लामिछानेको नाम नलिई बास्कोटाले पिँध नभएको र टेक्ने ठाउँ नभएको भनी टिप्पणी गरे ।

‘पिँध नभएको, फैलिने हाँगो नभएको र टेक्ने जमिन पनि नभएको चिजको आयु लामो हुँदैन । आयु भएको, इतिहास र योगदान एवं भविष्य भएको पार्टी र त्यसको उम्मेदवार रामप्रसाद न्यौपानेलाई आफ्नो भाइ, भतिजो, छोरोको रूपमा अनि मनमुटु छामेको साथीको रूपमा लिनुहोला,’ बास्कोटाले भने । 

सत्ता गठबन्धनविरुद्ध प्रतिकूल समयमा चुनाव जितेका बास्कोटालाई एमालेले चुनावी कमान्डर बनाएर चितवन पठाएको छ ।

बास्कोटाले हार्ने र गल्ती दोहोर्‍याउने छूट एमालेसँग नभएको भन्दै वैशाख १० गतेको चुनावमा मंसिरको नतिजा उल्ट्याउने दाबी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्