२७ जेठ २०८३, बुधबार

पोखरामा आजदेखि ‘बलियो नेपाल कप’ क्रिकेट हुँदै

पोखरामा आजदेखि ‘बलियो नेपाल कप’ क्रिकेट हुँदै
प्रतिकात्मक तस्वीर

बलियो नेपाल न्यूट्रिसन इनिसियटिभको आयोजनामा आजदेखि पोखरा रंगशलास्थित क्रिकेट मैदानमा ‘बलियो नेपाल कप–अण्डर १९’ क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण शुरू हुँदैछ ।

ग्रासरुट क्रिकेटको विकास गर्दै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य प्रतियोगिताको छ ।

खेलाडीमा लुकेको प्रतिभा उजागर गर्ने र उनीहरूलाई खेल्ने प्लेटफर्म सिर्जना गर्ने उद्देश्यसहित प्रतियोगिता गर्न लागिएको मंगलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सिलेन्स सेन्टरले सहभागिता जनाउने नेपाल न्यूट्रिसन इनिसियटिभका वित्त तथा प्रशासन व्यवस्थापक प्रकाश बख्रेलले जानकारी दिए ।

उनका अनुसार अनुसार टी–२० ढाँचामा खेलाइने प्रतियोगितामा सहभागी ६ टीमलाई २ समूहमा विभाजन गरेर लिगकम नक–आउटका आधारमा प्रतिस्पर्धा गराइनेछ । यसअघि लुम्बिनी प्रदेशका १२ जिल्लाको सहभागितामा पहिलो संस्करण र ५ प्रदेशको सहभागितामा काठमाडौंमा दोस्रो संस्करणको प्रतियोगिता सम्पन्न भइसकेको छ । 

प्रतियोगितामा प्रथम हुने टीमलाई ५० हजार र द्वितीय हुने टोलीलाई २५ हजार रुपैयाँसहित ट्रफी र मेडल पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा ‘म्यान अफ दी सिरिज’ घोषित १ जना खेलाडीलाई नगद १० हजारसहित ट्रफी तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलर १/१ जनालाई नगद ७/७ हजार र इमर्जिङ प्लेयरलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्रतियोगिता ग्रासरुट क्रिकेटको विकासमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले भने, ‘ग्रासरुट क्रिकेटको महत्त्व बुझेर नै खेलाडीलाई प्लेटफर्म प्रदान गर्न प्रतियोगिता हुन लागेको हो । सबै मिलेर खेलाडीलाई खेल्ने वातावरण निर्माण गर्नुपर्दछ ।’

नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य ऋषिराम गौतम र कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले क्रिकेट खेल विकासका लागि प्रतियोगिता आयोजना गरिएकाले सम्पूर्ण पोखरेलीले यसलाई सफल बनाउनुपर्नेमा जोड दिए । प्रतियोगिता चैत २७ गतेसम्म सञ्चालन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्