
काठमाडौं, १३ भदौ– मंगलबार (भाद्र शुक्ल अष्ठमी) का दिन राजधानी उपत्यकाभित्रको एक फराकिलो ठाउँ टुँडिखेल खचखच थियो ।
सुदूर नेपालको महान पर्व गौरा समारोहमा आउने ठूलाबडाका लागि रातो टेन्टमूनि मञ्च बनाइएको थियो । नेपाली अंग्रेजी र सुदूरपश्चिम र कणार्लीको क्षेत्रीय भाषा मिसाएर र्याप शैलीमा बोल्नेको भीडभाड नै थियो ।
यतिबेला देशको कार्यकारी प्रमुखको कुर्सीमा सूदूरकै चर्चित नेता शेरबहादुर देउवा बिराजमान छन् । हो, उनै नेताको पर्खाइमा मंगलबार मध्यान्हदेखि टुँडिखेलमा एक ठूलो मास थियो । तोकिएको समयभन्दा ठिक एक घण्टा ढिलो गरी उनी कार्यक्रम स्थल आइपुगे । त्यसपछि शुरु भयो, शुभकामना मन्तव्यको कार्यक्रम ।
परम्परा अनुसार नै पालैपालो जुनियरदेखि शिनियरसम्मको पालो थियो । सबैभन्दा पहिले पालो पाएका नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले देउडाको भाकाबाट आफ्नो मन्तव्य शुरु गरे, स्थानीय तहको निर्वाचन हुँदै आफ्नो पार्टी काँग्रेसको प्रशंसासहित आफ्नो भाषण टुंग्याए ।
त्यसपछि पालो पाएका एमाले नेता कर्णबहादुर थापा, काँग्रेस नेता, रमेश लेखक, एनपी साउद, कलशा महरा, मन्त्रीद्वय बीरबहादुर बलायर, महेन्द्रबहादुर शाही हुँदै प्रधानमन्त्री देउवाको पालो आयो । यी सबै ठूलाबडाहरुले गौराको शुभकामना दिनसमेत कन्जुस्याइ गर्दै आफ्ना दलको प्रशंसा र राजनीतिक चर्का भाषण गरे ।
भाषणसँगैका हुटिङले टुँडिटेलको सेरोफेरोको नै गुञ्जायमान भयो । टुँडिखेलमा उपस्थित अधिकांश युवापिडीले भाषण नै नबुझी सिट्टी बजाउँदै अगाडी बसेका बृद्धबृद्धालाई ठेल्दै नेताहरुका प्रत्येक वाक्यसँगै ताली बजाइरहेका थिए । दृश्य यस्तो देखिन्थ्यो कि आफ्नो पक्षको फुटबल टिमले गोल गरेको छ ।
मञ्चमा गीत गाउँनेमध्ये पनि कतिपयले देउडाका भाका गाउँन सकेनन् । त्यहाँ अधिकांश युवायुवतिको पहिरन पनि आधुनिक शैलीको देखिन्थ्यो । दुई चार जना बाहेक सबैले मौलिक पहिरनको बेवास्ता गर्दै घुँडामा फाँटेका जिन्स पाइट र टिशर्ट लगाएका देखिन्थे ।
विशेषतः महिलाले मनाउने चाड गौरा मनाउँन महिलाहरु पनि विदेशी महंगा साडी र बहुमुल्य विदेशी डिजाइनका गरगहनामा सजिएका देखिन्थे भने कतिपय त्यही घुँडामा फाटेको जिन्सको पाइन्ट र कालो चश्मामा सजिएका थिए । लाग्थ्यो कि सुदूरपश्चिमेली पनि कालो चश्मा र फाटेको फाइन्ट प्रर्दशनीमा आएका हुन् ।
सुदूरपश्चिम र मध्यपश्चिमको कणार्ली क्षेत्रमा ठूलो पर्वको रुपमा मनाइने गौरा काठमाडौंमा निरन्तरता स्वरुप यो वर्ष पनि मनाइयो । सुदूर नेपालबाट काठमाडौं पसेका केही युवाहरुको पहलमा आजभन्दा २ दशक अगाडी काठमाडौमा गौराले स्थान पाएको हो ।
संस्कृति जोगाउन मौलिक भेषभुषा, भाषाको जर्गेना गर्नुपर्ने देउडा गायक सुदूरसंस्कृति अभियन्ता नन्दकृष्ण जोशी बताउँछन् । उनले संस्कृति र राजनीतिकबीच निकै भिन्नता भएको संस्कृतिमा राजनीति नमिसाउन नयाँ पुस्ताले अठोट गर्नुपर्नेमा जोड दिए ।
पछिल्लो समय गौरा पर्वको मूल थलो सुदूरपश्चिम र कणार्लीमै पनि यसको मौलिकता कम भएको देखिन्छ । पछिल्लो पुस्ताले अघिल्लो पिढीबाट सबै कुरा नसिक्दा यस्तो भएको देखिन्छ । अझै काठमाडौंमा राजनीतिक पर्वमा रुपमा देखिन थालेको प्रस्टै हुन्छ ।
पछिल्लो समय यस पर्वमा गाइने देउडामा पनि राजनीतिक रंग प्रष्टै देखिन्छ । दोहोरी देउडामा समेत राजनीति मिसिएको हुन्छ । संस्कृतिप्रतिको वेवास्ता, संस्कृतिमाथिको विदेशी हस्तक्षेप वा बिकृतिलाई रोक्न लाग्नुपर्ने राजनीति पनि मौलिकता मास्न उद्दत छ ।