
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी अन्जन श्रेष्ठ तथा उनको टिमले आज बुधबार औपचारिक रूपमा टिम घोषणा गर्दै आफ्नो समूहको वाचापत्र सार्वजनिक गरेको छ।
वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठसहित टिमले अरण्य होटल हात्तीसारमा आयोजित घोषणासभामार्फत आफ्नो टिमका साथमा वाचापत्र सार्वजनिक गरेको हो।
वाचापत्र सार्वजनिक गर्दै जीवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रको लागि आफूले उम्मेदवारी दिएको उनले बताए।
घोषणा कार्यक्रममा श्रेष्ठले स्थानीय उत्पादनहरूको प्रवर्द्धन गर्दै औद्योगिक विकासमा अगाडि बढ्नुपर्ने बताए ।
नेपालजस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउन व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्ने भनाइ राखे।
महासंघलाई नयाँ उचाइमा पुर्याउन र संस्थाको व्यावसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफ्नो वाचापत्रलाई आधार मानेर काम गर्ने उनले स्पष्ट पारे।
आफ्नो टिमले सहभावना र सहकार्यको मूल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे ।
कार्यक्रममा श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरे।
अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोहीअनुसार सहकार्य गरिएको बताए।
यस्तै समूहको तर्फबाट वस्तुगत समूह तथा जिल्ला नगरतर्फका प्यानल सदस्यहरूले समेत आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरे।
