
जनमत पार्टीका उपाध्यक्ष तथा निवर्तमान खानेपानी मन्त्री अब्दुल खान आफ्नो चरित्र हत्या भएको भन्दै साइबर ब्युरो पुगेका छन् ।
विद्युतीय कारोबारसम्बन्धी कसूरबारे उनले नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दर्ता गराएका हुन् ।
आफ्नो चरित्र हत्या हुने गरी अश्लील भिडियो सामाजिक सञ्जालमा अहिले केही मानिसहरूले भाइरल गरेकाले उजुरी दिएको खानले बताए ।
यसअघि पनि यसै विषयमा खानले २०७९ असोज २४ गते बाँकेको कोहलपुर नगरपालिकाका विष्णु सोनकर र नेपालगन्जका चाँदबाबु भन्ने मुनचाँद सिद्दिकीविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दर्ता गराएका थिए ।
उनीसहित एक महिलाको अश्लील तस्वीरसहित भिडियो तथा फोटो अहिले सामाजिक सञ्जालमा तथा सञ्जालकर्ताहरूको प्राइभेट म्यासेन्जरमा भाइरल भएको छ ।
एक महिला नग्न भएर आफ्नो संवेदनशील अंगको प्रदर्शन गर्नुका साथै खानले पनि संवेदनशील अंग प्रदर्शन गरेको भिडियोमा देखिएको छ ।
हिजो मंगलवार एकाएक उक्त घटनाबारे सामाजिक सञ्जालमा चर्चा हुन थालेपछि उक्त कुरा बाहिरिएको हो ।
त्यस विषयमा खान भने भिडियो एडिट गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन्। ६ महिनाअघि नै एक भारतीय महिलासँग भएको भिडियो कुराकानीलाई एडिट गरिएको उनको दाबी छ ।
त्यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेमा त्यही बेला आफूले उजुरीसमेत दिएको उनले बताएका छन्।
खानले लोकान्तरलाई फोनमा दिएको प्रतिक्रिया जस्ताको तस्तैः
६ महिनाअघिको कुरा हो । फेसबुकमा एक जना भारतीय महिलाले फ्रेन्ड रिक्वेस्ट पठायो । म भारतमा डिप्लोमेटिक राजनीति गर्छु । तपाईंसँग राजनीतिक कुराकानी गर्न सकिन्छ भनेर फ्रेन्ड रिक्वेस्ट पठाएपछि मैले फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरें ।
त्यसको २ र ४ दिनपछि राति ८ बजेतिर मलाई व्हाट्सएपमा उनले कल गरिन् । २ मिनेटसम्म उनले राम्रो किसिमले मसँग कुरा गरिन् । त्यसपछि उनले आफ्नो नांगो तस्वीरहरू मलाई देखाउन थालिन् । १ मिनेटजति त्यस्तो नांगो तस्वीर देखेपछि मैले त्यसलाई स्टप गरें । लगत्तै मैले उनलाई ब्लक पनि गरें । ती भारतीय महिला को हुन् भन्ने कुरा मलाई राम्ररी थाहा पनि छैन । १५ सेकेन्डजति मात्र मैले भिडियोमा कुरा गरेको थिएँ ।
त्यसपछि फ्रेन्ड लिस्टबाट पनि आउट गरें । त्यति गरेको १० मिनेटपछि उनले भिडियो मलाई व्हाट्सएपमा पठाइन् । कि त मेरो एकाउन्टमा पैसा जम्मा गर्नुपर्यो नभए यो भिडियो म भाइरल गरिदिन्छु भनेर मलाई ब्लेकमेल गर्न थालिन् । ३-४ लाख रुपैयाँ जति मागेकी थिइन् । मैले जे गर्नुछ गर्नुस्, मैले त तपाईंसँग कुरा मात्र गर्न खोजेको हो । तपाईंले गरेको कामको म नेपाल र भारत दुवै देशको सीआईबीलाई जानकारी गराउँछु भनेर भनें ।
भिडियोमा मेरो अनुहार त छ तर तलको संवेदनशील भाग जसरी देखाइएको छ, त्यो भाग मेरो होइन, एडिट गरिएको छ ।
त्यसपछि उनले मेरो विरोधी साथीहरूकोमा त्यो भिडियो पठाइन् । त्यसपछि मेरो विरोधीहरूले फेसबुकमा त्यो भिडियो हाले । त्यसपछि मैले उनीहरूको नाम किटानीसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएको थिएँ ।
त्यसपछि उनीहरूले त्यो भिडियो डिलिट गरेको थियो । प्रहरीले पछि के कारबाही गर्यो, त्यो मलाई जानकारी भएन । मैले खास चासो पनि राखिनँ । अहिले फेरि आएर त्यही भिडियो सामजिक सञ्जालमा हिजो भाइरल गरेर मेरो चरित्र हत्या गर्न खोजिएको छ ।