०५ असार २०८३, शुक्रबार

हुलाकी सडक निर्माणको समय घर्किंदा पनि काममा ढिलासुस्ती

हुलाकी सडक निर्माणको समय घर्किंदा पनि काममा ढिलासुस्ती

कञ्चनपुरमा ३० महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।

कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक २०७३ फागुनमा सम्झौता भई काम थालिएको भए पनि अझै २६ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको छ ।

हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनीयर दीपक सुनारले निर्माण व्यवसायीले कामलाई प्राथमिकतामा नराख्न निर्माणमा ढिलासुस्ती भएको बताए । ‘पहिलो कोरोना कहर, निकुञ्ज क्षेत्रमा स्वीकृति लगायतका कारणले ढिलाइ भयो,’ उनले भने, ‘पाँचौंपटक काम गर्न म्याद थप गर्दा पनि पूरा भएको छैन ।’

हुलाकी सडकको ६२ किलोमिटर सडक ३ वटा प्याकेजमा ठेक्का दिएर काम थालिएको थियो । डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेजको २० किलोमिटरमा ९० प्रतिशत काम सम्पन्न भए पनि अन्य २ प्याकेजमा काम उस्तै छ ।

पहिलो प्याकेजको निर्माण ३६ करोड ४७ लाखमा शर्मा– राजेन्द्र जेभीले निर्माणको जिम्मा पाएको थियो । ‘पहिलो प्याकेजको निर्माण अवधि सकिएसँगै काम पनि अन्तिम अन्तिमतिर छ,’ इन्जिनीयर सुनारले भने, ‘तेस्रो प्याकेजमा काम भइरहे पनि दोस्रोमा स्थगन जस्तै छ ।’ 

बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजको लागत ४१ करोड ४१ लाख छ । प्याकेजमा हालसम्म साढे ९ किलोमिटर सडक मात्रै कालोपत्र भएको हुलाकी सडक योजना कार्यालयले जनाएको छ । सोही प्याकेजको पचुइँ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न असहमति जनाउँदै आएको छ । 

दोस्रो प्याकेज निर्माणको जिम्मा पाएको बाबा हंस–सिद्धीसाई जेभीले ५ पटक म्याद थप भइसक्दा मुस्किलले ५० प्रतिशत काम सकेको छ । हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटर सडकमा ६ वर्षको अवधिमा साढे ८ किलोमिटर सडक मात्रै कालोपत्र भएको इन्जिनीयर सुनारले जानकारी दिए ।

‘दोस्रो र तेस्रो प्याकेजको कामसक्ने समय आगामी असार मसान्तसम्म तोकिएको छ,’ इन्जिनीयर सुनारले भने, ‘६ वर्षको अवधिमा जम्मा ३६ किलोमिटर मात्रै सडक कालोपत्र भयो ।’ निर्माण व्यवसायीले सम्झौता अनुसार निर्धारित समयभित्रै कार्य पूरा नगर्दा सडक निर्माणको कार्य निकै ढिलाइ भएको हो ।

निर्माणाधीन सडकमा पर्ने स्थानीय पालिका र स्थानीयवासीले समयमा निर्माण सक्न पटक–पटक दबाब दिँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्