
मंगलवार चितवन आइपुग्दै गर्दा चैते झरीले स्वागत गरे पनि बुधवार बिहानैदेखि घाम चर्किन शुरू भइसकेको थियो । दिउँसोमा त सडकमा निस्किन नै गाह्रो पर्न थालिसकेछ ।
नयाँ वर्षलाई स्वागत गर्न झण्डै एक साता मात्र बाँकी रहँदा चितवनमा गर्मी ह्वात्तै बढेको छ । यहाँ मौसमलाई चुनौती दिने अर्को एउटा गर्मी पनि छ, आसन्न उपनिर्वाचनको ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन क्षेत्र नम्बर २ का निवर्तमान सांसद रवि लामिछाने नागरिकता प्रकरणमा दोषी ठहर भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि रास्वपाले रविलाई नै दोहोर्याएर उम्मेदवार बनाएको छ भने एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसबाट पूर्व सभापति जीतनारायण श्रेष्ठ मुख्य प्रतिस्पर्धामा छन् ।
मंसिर ४ मा पुराना दलहरूप्रति वितृष्णा व्यक्त गर्दै नयाँ दललाई छानेका चितवन– २ का मतदातामा नयाँ भनिएका दलहरूप्रति पनि वितृष्णा पैदा हुन थालेको पाइयो ।
‘जो आए पनि गफै गर्ने, कामचाहिँ नगर्ने रहेछन्,’ भन्ने निचोड अधिकांशले सुनाए । केहीले भने पटक–पटक निर्वाचन गरेर चितवनलाई प्रयोगशाला बनाउन खोजिएको गुनासो गरे ।
‘नेताले गल्ती गर्ने, अनि हामी जनताले दुःख पाउनुपर्ने ?’ छ महिनाको बीचमा फेरि मतदान गर्नुपर्ने भएपछि आक्रोश व्यक्त गर्दै भरतपुर– ७ कृष्णनगरका सौगात बस्यालले लोकान्तरसँग भने, ‘हामी जनतालाई अनि चितवनलाई प्रयोगशाला बनाएका छन् ।’
अब आफूहरू भावनामा नबग्ने भन्दै उनले गाउँ–ठाउँ बुझेको र दुःख पर्दा काम लाग्ने उम्मेदवार रोज्ने बताए । दुःख पर्दा गाउँ–ठाउँकै मान्छे चाहिने रहेछ भन्ने लागेको उनको भनाइ छ ।
भरतपुर– ४ की मनिषा पाठकले नयाँ–पुराना सबै दलहरूप्रति आक्रोश पोखिन् ।
‘हामीले नयाँ भनेर जिताएर पठाएको मान्छे पनि पुराना नेताजस्तै सत्तालिप्सामा लाग्नुभयो । कहिले केपीबा, कहिले प्रचण्डबा भनेर दौडिनुभयो,’ निराशाको भावमा उनले भनिन्, ‘बाहिरै बसेर पनि जनताका कुरा बोल्न सकिन्थ्यो नि !’
‘जो आए पनि सत्ताकै लागि मरिहत्ते गर्ने रहेछन्’ भन्दै उनले अब सोचविचार गरेर मात्र भोट हाल्ने बताइन् ।
चितवन– २ मै पर्ने इच्छाकामना गाउँपालिका– ४ का स्थानीयले आफ्नोमा खानेपानीको समस्या समाधान गरिदिन कोही नआएको भन्दै आक्रोश व्यक्त गरे ।
बर्खायाममा खोलाको पानी आए पनि गर्मी र हिउँद पानीको समस्या विकराल रहेको उनीहरूको गुनासो छ ।
कुरिनटारबाट २०/२५ किलोमिटर कच्ची सडकको यात्रापछि पुगिने विकट क्षेत्र मेलडाँडामा त अहिले ५/५ हजार लिटरका २ वटा पानी ट्याङ्कीमा ओसारेको पानीका भरमा २४ परिवारको दैनिकी चलिरहेको ४८ वर्षीय जंगबहादुर गुरुङले बताए ।
‘हाम्रो समस्या भनेकै खानेपानी हो । जो नेता आएपनि पानी ल्याइदिन्छौं भन्छन्, तर हाम्रो समस्या भने जस्ताको त्यस्तै छ,’ गुरुङले लोकान्तरसँग भने, ‘नेताहरूले कुरिनटारमा आएर कुरा मात्रै गर्छन्, काम गर्दैनन् ।’

पानीको समस्याका कारण गाउँ नै छाड्नुपर्ने अवस्था आएको उनको गुनासो छ ।
कुरिनटारमा किराना पसल गर्दै आएका प्रदीप त्रिपाठीले पनि दलहरूप्रति गुनासो पोखे । अघिल्लोपटक आउँदा आँगनसम्मै पिच गरिदिन्छौं भन्नेलाई ‘के काम गर्यौ त ?’ भनेर सोध्ने तयारीमा रहेको उनी बताउँछन् ।
‘नेताहरू भोट माग्ने बेलामा मात्रै आउँछन् । बाटो घरभित्रै हाल्दिउँलाजस्तो कुरा गर्छन्, तर जितेर गएपछि फर्किँदैनन्,’ स्थानीय व्यवसायी त्रिपाठीले लोकान्तरसँग, ‘अब तिनै नेताहरू भोट माग्न आउँदैछन्, प्रश्न गर्न त पाइएला नि ?’

जो आए पनि आश्वासन मात्रै दिएर जाने भएकाले कसैको कुरामा विश्वास लाग्न छाडेको उनको भनाइ छ ।
इच्छाकामना– ५ बर्लाङकी ६८ वर्षीया लाटीमाया गुरुङले जोसुकै आए पनि आफूलाई कुनै मतलब नभएको बताइन् । ‘जो नेता आए पनि आफ्नो दुःख आफैँसँग छ । अघिल्लोपटक भोट दिने रे भने सबैले, हामीले पनि दियौं, यसपालि त भोट माग्न पनि कोही आएका छैनन् ।’

फिस्लिङ, कुरिन्टार, रामनगर हुँदै भरतपुरसम्म पुग्दा मतदातामा चुनावलाई लिएर उत्साह कम, आक्रोश ज्यादा पाइयो । केही त फेरि अर्को चुनाव कहिले हुने हो भनेर चिन्ता गर्दै गरेको पनि भेटिए ।
कांग्रेस, एमाले र रास्वपा तीनवटै दलले चुनावी प्रचारलाई आक्रामक ढंगले अगाडि बढाएका छन् । अहिले ठाउँठाउँमा पुगेर भेला गर्ने र मतदातासमक्ष कार्यकर्ता परिचालन गर्ने क्रम चलिरहेको छ ।
कांग्रेस–एमाले दुवैको जोड आफ्ना पुराना मतदाता फर्काउनेमा केन्द्रित छ भने रास्वपाले मंसिर ४ को नतिजा कायम राख्न मेहनत गरिरहेको छ ।
अहिले नै ठ्याक्कै चित्र प्रस्ट भइसकेको छैन । तर, कांग्रेस–एमालेले पुराना मतदाता फर्काउन गरेको मेहनत र मतदाताको बदलिँदो मनोविज्ञान हेर्दा चुनावी प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।