
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन्।
बिहीवारबाट शुरु भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले अर्थतन्त्र सबल बनाउन र जीवनलाई स्वस्थ राख्न मौलिक उत्पादनहरूमा जोड दिनुपर्ने बताए।
भक्तपुर कृषि उत्पादन गर्ने जिल्लामा प्रमुख रहेको भन्दै मेला महोत्सवमा पनि कृषिजन्य मौलिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
भक्तपुरले यस्ता महोत्सवहरूमा आफ्ना मौलिक कृषि उत्पादनलाई प्रस्तुत गरेर मात्रै कृषि क्षेत्रको व्यापार बिस्तार गर्न सहज हुने उनले बताए।
भने, ‘हामीले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी छ । अर्थतन्त्र सबल बनाउन र हाम्रो जीवनलाई स्वस्थ बनाउन पनि हाम्रा आफ्नै खेतबारीमा उत्पादन हुने मौलिक उत्पादनहरूमा जोड दिनुपर्छ । कृषि सामग्रीहरू किन नराख्ने यस्ता महोत्सवमा । भक्तपुरले यस्ता महोत्सवहरूमा आफ्ना मौलिक कृषि उत्पानलाई प्रस्तुत गर्नुपर्छ ।’
त्यस अवसरमा मन्त्री भुसालले महोत्सवको अवलोकन गरेका थिए।
भक्तपुर पुग्ने आन्तरिक तथा बाह्य पर्यटक लक्षित महोत्वस आयोजना गरिएको हो । महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, मोबाइल, सवारी साधनलगायत कक्ष रहेका छन् ।
सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
महोत्सवमा करिब ५ लाख उपभोक्ताले अवलोकन गर्ने तथा १० करोडदेखि १२ करोडसम्मको कारोबार हुने अपेक्षा गरिएको छ ।
११ दिनसम्म चल्ने महोत्सवमा विभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहनेछ ।