०७ असार २०८३, आइतबार

बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

सिन्धुपाल्चोकको यांग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ ।

उनीहरूको स्थायी आवासका लागि जग्गा खरिद सम्झौता गरिएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग यांग्री लार्के खोलामा २०७८ असार १ गते आएको बाढीबाट प्रभावित भई मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०७७ बमोजिम यांग्री दलित बस्तीका ११ घर परिवारलाई स्थायी आवास निर्माणका लागि जग्गा खरिद गरी सम्झौता गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए ।

बाढीबाट प्रभावित १७९ घरधुरी लाभग्राही कायम भएका छन् । 

यीमध्ये १३ घर पुनर्निर्माण र बाँकीलाई पुनःस्थापना गर्नुपर्ने गाउँपालिकाका विपद् फोकलपर्सन तथा सूचना प्रविधि अधिकृत नारायण बञ्जरा क्षेत्रीले जानकारी दिए । अहिलेसम्म २२ लाभग्राहीको जग्गा खरिद भएको र ५ जनाले घर निर्माण सम्पन्न गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलले जानकारी दिए ।

बाढीबाट प्रभावितलाई आवास निर्माणका लागि ५ लाख तथा जग्गा नहुनेलाई थप ३ लाख सरकारले दिने बताएको छ । यसमा गाउँपालिकाले १० र नगरले १५ प्रतिशत  साझेदारी गर्नुपर्नेछ ।

विक्रम संवत् २०७८ असार १ गते र त्यसपछिको बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी बाढीले ५५१ घर बगाएको थियो । 

कमेन्ट गर्नुहोस्