काठमाडौँ, १५ भदौ - नेपाल र चीनबीचको रसुवागढी–केरुङ नाका अन्तर्राष्ट्रिय नाकाको रूपमा प्रयोग हुने भएको छ । दुई देशका अधिकारीहरूले बुधबारदेखि अन्तर्राष्ट्रिय नाकाको रूपमा यो नाकालाई सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् । दुवै देशका अधिकारीहरूले यस नाकालाई विकसित गरेर अन्तर्राष्ट्रिय नाकाका रूपमा सञ्चालनमा ल्याउने घोषणा गरेको ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले बताए ।

अन्तर्राष्ट्रिय नाकाको रूपमा रूपान्तरण भएपछि यस नाकाबाट नेपाली र चिनियाँ नागरिकका साथसाथै तेस्रो मुलुकका नागरिकसमेत आवतजावत गर्न सक्नेछन् । दुई देशबीच मुख्य नाकाका रूपमा प्रयोग हुँदै आएको तातोपानी २०७२ सालको भूकम्पपछि बन्द रहेको अवस्थामा रसुवागढीलाई अन्तर्राष्ट्रिय नाकाका रूपमा प्रयोग गर्ने सहमति भएको हो ।
चीनको स्वशासित क्षेत्रको तिब्बतसँग जोडिएको यो नाका तातोपानी बन्द भएपछि पहिलो विकल्पको रूपमा प्रयोग हुँदै आएको थियो । ल्हासामा दुवै देशका अधिकारीहरूले संयुक्त विशेष कार्यक्रम गरेर नाकालाई अन्तर्राष्ट्रिय बनाउने सुखद घोषणा गरेको जनाइएको छ । महावाणिज्यदूत कार्कीका अनुसार नाका सञ्चालनका लागि चीनतर्फको सम्पूर्ण पूर्वाधार तयार भइसकेको छ । नेपालतर्फ पनि पूर्वाधार निर्माणको थप काम भइरहेको छ, गोरखापत्रमा खबर छ ।