
नेपाल नेत्रज्योति संघको आयोजनामा हिमाली जिल्ला मुगुका २ वटा स्थानीय तहमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र मुगुको स्थानीय आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र नेपाल नेत्रज्योति संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग र आईकेयर फाउन्डेसनको विशेष सहयोगमा उक्त शिविरहरू आयोजना गरिएको हो ।
उक्त २ वटा आँखा शिविरमार्फत १ हजार १ सय १८ जना बिरामीहरूको आँखा परीक्षण गरिएको थियो भने १५४ जनाको निःशुल्क शल्यक्रियासमेत भएको थियो।
शिविरमार्फत हुम्ला जिल्लाका साथै छिमेकी जिल्ला जुम्लाका नागरिकहरू समेत लाभान्वित भएका छन् ।
चैत्र १५ गतेदेखि १७ गतेसम्म मुगुका्े छायाँनाथ रारा नगरपालिका गमगढीमा सञ्चालित शिविरमा ६४७ जना बिरामीहरूको निःशुल्क आँखा जाँच गरिएको थियो । उक्त शिविरमा आँखा जाँच गराएका बिरामीहरूमध्ये मोतीबिन्दु देखिएका ६५ जनाको निःशुल्क शल्यक्रियासमेत गरिएको नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए ।
मुगुकै खत्याड गाउँपालिकामा चैत्र २० गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको शिविरमा ४७१ जनाको आँखा जाँच गरी मोतीबिन्दु देखिएका ८७ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो भने २ जनाको माइनर सर्जरीसमेत गरिएको थियो ।
२ वटै शिविरमार्फत ४८४ जना बिरामीहरूलाई निःशुल्क चश्मासमेत वितरण गरिएको मल्लले जानकारी दिए ।
पहुँच र आर्थिक अभावमा कोही पनि नागरिकहरू दृष्टिविहीन बस्न नपरोस् भन्ने हेतुले संघले दशैभरि निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको मल्लले बताए ।
नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराका नेत्रअधिकृत गोविन्दनाथ योगीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरूको टोलीले आँखा शिविर सञ्चालन गरेको हो ।