१० साउन २०८३, आइतबार

भरतपुर अस्पतालको ओपीडीः डाक्टर भेट्न ४ दिन

चैत २४, २०७९
भरतपुर अस्पतालको ओपीडीः डाक्टर भेट्न ४ दिन

भरतपुर महानगरपालिका-१७ का वृद्ध मानबहादुर शाही ४ दिनदेखि भरतपुर अस्पतालको बहिरंग सेवामा रुमलिइरहेका छन्। 

आज बहिरंग विभागमा भेटिएका उनले मिर्गौलाको पत्थरी झिक्न धेरै दुःख पाएको गुनासो गरे। 

'लाइन बसेर टिकट काटेर डाक्टर भेट्नै चार दिन लाग्यो', उनले गुनासो गर्दै भने, 'सिस्टम भएन, कर्मचारी थोरै भए सुधार गरेर लैजानुपर्छ ।'

मिर्गौलामा पत्थरी भएको र शल्यक्रिया गर्नुपर्ने चिकित्सकले जनाएपछि अब कहिले शल्यक्रिया हुने हो अझै टुंगो नलागेको उनले बताए ।

अस्पतालमा शल्यक्रियाका लागि महिनौँ पालो कुर्नुपर्ने अर्को बाध्यता छ । भरतपुर महानगरपालिका-७ का सुनिल ढकाल मर्किएको हातको एक्स-रे गर्न बिहीबारदेखि अस्पतालकै बहिरंग सेवामा घुमिरहेका भेटिएका थिए। उनले भने, 'आज एक्स-रे गर्न पाए आइतबार डाक्टरलाई देखाउँथे ।'

उनले एक्स-रे गरेर रिपोर्ट देखाउन मात्रै ३ दिन लागेको र भीड नियन्त्रण नहुँदा समस्या भएको बताए । उनको गुनासो छ, 'चिकित्सक कर्मचारी आफ्नो मान्छे भए भित्रबाट फटाफट काम हुँदोरहेछ, सर्वसाधारणलाई सास्ती ।' 

बिहीबार आमाको उपचार गर्न माडीबाट आएका देवराज बरालको गुनासो पनि उस्तै छ ।

अस्पताल आउने धेरैको अवस्था यस्तै छ । 

अस्पतालमा भौतिक पूर्वाधार निर्माण र उपकरण पर्याप्त भएर पनि सर्वसाधारणले सहज सेवा पाउन सकेका छैनन् । सामान्य बहिरंग सेवा (ओपीडी) सेवा लिनसमेत चार दिनसम्म धाउनुपर्ने बाध्यता अस्पतालमा छ । अस्पताल केन्द्रीय भएसँगै सहज उपचार सेवा पाउने आम नागरिकको अपेक्षाअनुरुप सेवा अझै अस्पतालले दिन सकेको छैन ।

विशेषज्ञता हासिल गरेका चिकित्सक भेट्न बिरामीलाई मुस्किल पर्ने गरेको छ । सरकारी अस्पताल भए पनि कतिपय शुल्क निजीसरह छन् भने बीमामार्फत पाउनुपर्ने औषधि अस्पतालले खरिद नगर्दा बिरामीले नगदमा खरिद गर्न बाध्य छन् ।

आफन्तको उपचारका लागि आएका जोकोहीलाई भेटेर सोध्दै गर्दा सेवामा गुनासैगुनासा सुन्ने गरिन्छ ।

स्थानीय पत्रकार रमेशकुमार पौडेलले विगतको तुलनामा केही सुधार हुँदै गए पनि सुधार गर्नुपर्ने धेरै विषय रहेको बताए । उनले भने, 'चिकित्सक स्वास्थ्यकर्मीले बिरामीले खोजेको जस्तै व्यवहार पनि पाउँदैनन् ।'  उनले राति ९ बजेपछि भिडियो एक्स-रे गर्न अस्पताल बाहिर जानु परेको गुनासो गरे।

अस्पतालको बहिरंग सेवामा मेडिकल अधिकृत राख्ने र अतिरिक्त शुल्क लिएर विशेषज्ञले परीक्षण गर्नेक्रम बढ्दो छ । बिरामीलाई अतिरिक्त शुल्क लिन बाध्य पार्ने गरिएको गुनासो गरे। बीमाका बिरामीले जनरलमा टिकट काटेर परीक्षणपछि नगद ५ सय तिरेर अतिरिक्त सेवा (ईएचएस) लिन बाध्य पारिने गरिएको छ । 

बीमामा एक हजार ७८ प्रकारका औषधि उल्लेख भए पनि अस्पतालले समयमा खरिद नगर्दा न्यून सङ्ख्यामा मात्रै पाइने गरेको छ ।

यसका कारण बिरामी औषधि खरिदका लागि बाहिर जान बाध्य छन् । अस्पतालका सबैजसो विभागमा समस्यै समस्याका चाङ छन् । समस्या समाधानतर्फ अस्पताल प्रशासन नलागेको गुनासो सुन्ने गरिन्छ । 

अस्पताल सञ्चालक समितिका अध्यक्ष राजु पौडेल जनशक्ति र पूर्वाधार थप नगरेसम्म सेवा सुधार गर्न नसकिने उल्ल्लेख गरे।

गुनासा र समस्या रहेको स्विकार्दै उनले सरकारको एक सय ५० शय्याको जनशक्तिमा ६ सय मात्र चल्दा समस्या भएको बताए ।

मन्त्रालयले ‘ओएनएम सर्भे’ गरेर एक हजार ८७ दरबन्दी आवश्यक पर्ने उल्लेख गरे पनि नीतिगत निर्णय भएर कार्यान्वयनमा नआएका कारण समस्या रहेको उनको भनाइ छ । 

समयमा औषधि खरिद गर्न नसक्दा बीमाको सबै औषधि बिरामीले पाउन नसकेको सञ्चालक समितिका अध्यक्ष बताए ।

अस्पतालका कतिपय चिकित्सक-स्वास्थ्यकर्मी र कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगर्ने र प्रशासनिक निकायको निर्देशन पालना नगर्दा अस्पतालमा समस्या आउने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्