
प्रदेश संरचना खर्चिलो भएको र खर्च धान्न मुस्किल परेको गुनासो आउने गरेको छ, जसले प्रदेश संरचनाप्रति नै वितृष्णा बढाइरहेको छ ।
यस्तो अवस्थामा पनि सरकार र सांसदहरूले मितव्ययिता अपनाउनेतिर ध्यान दिन सकिरहेका छैनन् । यहाँसम्म कि प्रदेश राजधानीमै घर भएका सांसदहरूले समेत घरभाडाबापत रकम बुझ्ने गरेका छन् ।
९३ सदस्य रहेको कोशी प्रदेशसभामा सभामुख र उपसभामुखलाई सरकारी निवासकै व्यवस्था गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीहरूलाई पनि सरकारी निवासकै व्यवस्था छ ।
त्यसबाहेक प्रदेश राजधानीमा घर नभएका सांसदहरूले घरभाडा पाउने गरेका छन् । तर, प्रदेश राजधानीमै घर भएका तथा आसपासका जिल्लाबाट पनि घरै बसेर संसद् बैठक भ्याउने सांसदहरूले समेत घरभाडा बापतको रकम बुझ्ने गरेका छन् ।
प्रदेशसभा सदस्य भीम पराजुलीको घर विराटनगरमै छ । उनको घर र प्रदेशसभा भवनको दूरी मुस्किलले ४ किलोमिटर होला । तर, उनले प्रदेशसभाबाट घरभाडा बापत रकम बुझ्ने गरेका छन् ।
प्रदेशसभाले भाडाबापत मासिक १९ हजार रुपैयाँ उनको खातामा पठाउने गरेको छ ।
झापा, मोरङ र सुनसरीका अधिकांश सांसद घरबाटै धाउने गरेका छन् । सुनसरी र मोरङका सांसदका लागि विराटनगर पानी पँधेरोजत्तिकै हो । घरमा भात खाएर चुठ्नका लागि प्रदेशसभामा आउन सकिन्छ । तर, घरबाटै धाउने सांसदहरू खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी, उमाकान्त गौतम, गयानन्द मण्डल, मानबहादुर लिम्बू र मालतीकुमारी लिम्बूले पनि आफ्नै घरमा बसेर घरभाडाबापतको रकम बुझ्ने गरेका छन् ।
यहाँसम्म कि मानबहादुरले त चुनाव प्रचारमा जाँदा आफूले कुनै सुविधा नलिने घोषणा नै गरेका थिए । उनको घर बेलबारी नगरपालिका– १० मा पर्छ । मोरङकै लीलाबल्लव अधिकारी, विद्या चाम्लिङ र नुरसदी बेगमले पनि घर भाडाबापत रकम लिने गरेका छन् ।
कोशी प्रदेशसभाका ७ सांसदले भने भाडाबापत रकम बुझेका छैनन् ।
घरभाडा नलिने सांसदमा अमृत अर्याल, केदार कार्की, शीला दीक्षित कार्की, जयप्रकाश चौधरी, गणेश उप्रेती, गीता तिम्सिना र गीतारानी महतो रहेका छन् ।
ऋण खोजेर घर बनाएको भए पनि आफ्नै घरमा बसेको भाडा लिन नैतिकताले नदिएकाले सेवा सुविधामा पाउने भए पनि घरभाडा नबुझेको प्रदेशसभा सदस्य गीता तिम्सिनाले बताइन् ।
चुनाव जिताउने कार्यकर्ता, स्वकीय सचिवमा आफन्त
सांसदहरूले छोराछोरी, बुहारी, ज्वाइँ तथा आफन्तलाई स्वकीय सचिवमा नियुक्त गरेका छन् । सांसदले एकजना स्वकीय सचिव राख्न पाउने कानूनी व्यवस्था छ ।
स्वकीय सचिवले नायबसुब्बा वा सो सरहको तलब पाउँछन् । ३४ हजारको लोभमा उनीहरूले आफन्तलाई स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।
एमाले सांसद रोहितबहादुर कार्कीले छोरा प्रह्लाद कार्कीलाई स्वकीय सचिव नियुक्त गरेका छन् । उनलाई स्थानीय पार्टी कमिटीले छोरालाई स्वकीय सचिव नराख्न समेत भनेको थियो । तर, पार्टीले भन्दाभन्दै पनि उनले छोरालाई स्वकीयको जागिर खुवाएका छन् ।
प्रदेशसभा सदस्य उमाकान्त गौतमले पनि कान्छा छोरा प्रज्ज्वल गौतमलाई स्वकीय सचिव नियुक्त गरेका छन् । नारायण बुर्जा मगरले छोरा चित्रबहादुर बुर्जा मगरलाई स्वकीय सचिवमा नियुक्त गरेका छन् । चित्रबहादुर नारायणका माइला छोरा हुन् ।
नम्बरलाल धिमालले पनि छोरा सूर्यप्रकाश धिमाललाई स्वकीय सचिवको जागिर दिएका छन् ।
प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले ज्वाइँ गजराज मण्डललाई स्वकीय सचिवमा नियुक्त गरेका छन् । सुनिताकुमारी गुरुङ रामले छोरी सुष्मा रामलाई स्वकीय सचिव बनाएकी छिन् ।
खगेश्वरी पौडेलले बुहारीलाई स्वकीय बनाएकी छन् । पौडेलले बुहारी अस्मिता तिम्सिनालाई स्वकीयको नियुक्ति दिएकी हुन् । भूमिप्रसाद राजवंशी र सांसद लखीकुमारी गणेशले पनि आफ्नै परिवारभित्रका सदस्यलाई स्वकीय सचिवमा नियुक्त गरेका छन् ।
प्रदेशसभा सदस्य सुनिता गच्छदारले आफ्ना देवारलाई स्वकीयमा नियुक्त गरेकी छिन् । प्रदेशसभा सदस्य ललिताकुमारी चौधरी र लीलाकुमारी राईले आफ्नै भदा भदैनीलाई तलब खुवाएका छन् ।