
मुख्य सचिव शङ्करदास बैरागीले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने रणनीतिक कार्ययोजनाका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
उक्त प्रयोजनका निम्ति निजी क्षेत्र र सरकारको प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको उनले उल्लेख गरे । नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय समृद्धिमा पर्यटनको भूमिका’ अन्तरक्रियामा उनले अर्थतन्त्रको दरिलो आधार मानिने पर्यटन क्षेत्रलाई चलायमान बनाउन विदेशी पर्यटक आकर्षणका लागि सम्भाव्य गन्तब्य बजारमा प्रभावकारी प्रवद्र्धन गरिनुपर्ने बताए । “निजी क्षेत्रलाई साथमा लिएर मात्रै पर्यटन विकास गर्न सकिन्छ, त्यसका लागि क्षेत्रगत रणनीतिका साथ अघि बढ्नुपर्छ”, मुख्यसचिव बैरागीले भने, “पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यमा अन्तर्राष्ट्रिय बजारमा जाऔँ, छिन्न, भिन्न भएरभन्दा पनि समन्वयका साथ काम गर्न सकेको खण्डमा परिणाम निस्कन्छ ।”
मुख्यसचिव बैरागीले नेपालको पर्यटन ‘नेचर र कल्चर’ मा आधारित रहेकाले यसैलाई ब्राण्डिङ र प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए ।
मुख्यसचिव बैरागीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को गरिमा र मर्यादालाई कायम राख्दै यसको भविष्यलाई सुनिश्चित गर्न कसरी संरचनागत र व्यवस्थापकीय सुधार गरेर जान सकिन्छ भनेर आन्तरिक छलफल भइरहेको जानकारी दिए ।