
भारतको राजधानी नयाँदिल्लीमा बियरको अभाव भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री अरबिन्द केजरीवाल नेतृत्वको सरकार रहेको दिल्लीमा ग्राहकले रोजाइको ब्रान्डको बियर सहजै पाइरहेका छैनन्, बियरको अभाव देखिएको छ ।
बियर पाइहाले पनि चिसो नपाइने ग्राहकको गुनासो छ । रोजाइको बियर नपाएपछि ग्राहक खिन्न हुँदै जाने गरेका छन् ।
इन्डियन अल्कोहलिक बेवरेज कम्पनीका महानिर्देशक विनोद गिरीेले दिल्लीको बजारमा बियरको अभाव हुनुको कारण घट्दो उत्पादन र अन्य राज्यमा बढेको माग रहेको बताए । गर्मी शुरू हुनलाग्दा बियरको माग बढेको छ ।
‘दिल्लीको बजारमा कम्पनीको मार्जिन कम हुन्छ, त्यसैले कम्पनीले लाभदायक बजारमा बियर पठाउँछन्,’ उनले भने, ‘दिल्लीमा सबै रक्सी पसल सरकारीस्तरबाट सञ्चालित छन् ।’
दिल्लीमा सरकारीस्तरबाट ५५० भन्दा बढी पसलबाट रक्सी र बियर बिक्री हुँदै आएको छ ।