
एकतर्फी रूपमा चितवनतर्फबाट नारायणी नदी तटबन्धको काम गरिएको भन्दै विरोध भएपछि १ हप्ताभित्र गैंडाकोट तर्फका किनारमा पनि तटबन्ध गर्नका विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने भएको छ ।
अहिले नारायणी नदीको नारायणगढतर्फको किनारमा ‘सि बिच मोडल’मा तटबन्ध सहितको संरचना बन्दै गर्दा यसको कारण बर्खायाममा नदीको वहाव परिवर्तन भई गैंडाकोट डुबानको जोखिममा पर्ने भन्दै स्थानीयले विरोध जनाउँदै आएका थिए ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटका वासिन्दाले संघर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम गर्दै आएका थिए । स्थानीयले आन्दोलन चर्काउँदै लगेपछि शुक्रवार नगरपालिकामा गैंडाकोट बचाऔं संघर्ष समिति, नारायणी नदी व्यवस्थापन आयोजना र गैंडाकोट नगरपालिकाबीच ३ बुँदे सहमति गरिएको छ ।
गैंडाकोटतर्फको किनारमा पनि तटबन्ध निर्माणको प्रक्रिया अघि बढाउने गरी सहमति भएपछि स्थानीयले जारी आन्दोलनलाई स्थगित गरेका छन् । नवलपुरतर्फका वासिन्दाको माग सम्बोधन गर्ने गरी काम अगाडि बढाउने सहमति भएको आयोजना प्रमुख गणेश मरासिनीले जानकारी दिए । हरेक बर्खायाममा गैंडाकोट नगरपालिकाको वडा नम्बर १, २, ५, ६, ७ र ९ को नदी तटीय क्षेत्रमा नारायणी नदीको बाढी पस्दै आएको छ ।
नदीको नारायणगढतर्फ मात्रै संरचना बनाइँदा डुबानको जोखिम झनै बढ्ने स्थानीयको चिन्तालाई गम्भीर रुपमा लिँदै आगामी १ हप्ताभित्रै उपभोक्ता समिति गठन गरी तटबन्धको प्रक्रिया अगाडि बढाइने सहमति भएको मरासिनीले बताए । ‘नारायणी नदीको पुलबाट उत्तरतर्फ सि बिच मोडलमा बन्दै गरेका संरचनाको दीर्घकालीन व्यवस्थापनका लागि गैंडाकोट क्षेत्रमा पनि संरक्षणका कार्य अघि बढाउनुपर्ने आवश्यकता महसूस गर्दै आयोजनाकै तर्फबाट आगामी १ हप्ताभित्र तटबन्धका लागि डीपीआर प्रक्रिया अघि बढाइनेछ,’ सहमति भएका विषयबारे जानकारी गराउँदै उनले भने, ‘गैंडाकोट–६ र ९ स्थित किनार क्षेत्र संरक्षण गर्ने सन्दर्भमा पनि आयोजनाले स्थलगत अध्ययन गरी आवश्यक कार्य अघि बढाउने निर्णयमा पुगेका छौं ।’
त्रिपक्षीय सम्झौतापछि गैंडाकोटका नगर प्रमुख मदनभक्त अधिकारीले नदी र आसपासको क्षेत्र संरक्षणका लागि महत्त्वपूर्ण निर्णय भएको बताए । तटबन्धको डीपीआर, संरचना निर्माण लगायत सहजीकरणका लागि आफू सदैव तयार रहेको पनि उनले प्रतिबद्धता जनाए । सहमतिपछि संघर्ष समितिका संयोजक गोकुल सापकोटाले आन्दोलनका सबै कार्यक्रम तत्काललाई स्थगन गरिएको जानकारी दिए ।