
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताएका छन् ।
होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम महाधिवेशन पोखरामा उद्घाटन गर्दै उनले समयसापेक्ष पर्यटन ऐन ल्याउन लागिएको जानकारी दिए ।
“पर्यटन ऐन बदल्नु छ, मभन्दा जेठो पर्यटन ऐन बोकेर हिँड्दैछु । यो ऐनको प्रभावकारिता सकिएकाले नयाँ ऐन ल्याउन लागेका छौँ”, उनले भने । वर्तमान ऐनमा भएका धेरै विषयहरु सुधार गर्दै समयसापेक्षित पर्यटन ऐन ल्याउने उनको भनाइ छ ।
पर्यटनमन्त्री किराँतीले पर्यटन ऐनका बारेमा पोखरामा समेत आएर पर्यटन व्यवसायी, होटल व्यवसायी लगायत सबै सरोकारवालासँग सुझाव र छलफल गरिने बताए ।
उनले मन्त्रालयले २० वर्षे दीर्घकालीन कार्यक्रम घोषणा नगरी आवश्यकताका आधारमा तत्कालका योजना र कार्यक्रम ल्याउने तयारी गरिएको बताए ।
पोखरालाई ‘ब्राण्डिङ’ र ‘रिब्राण्डिङ’ गर्दै यहाँको प्रकृति र संस्कृतिलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेर विदेशी मुद्रा आर्जन गर्नुपर्नेमा उनले जोड दिए ।
पर्यटनको विकास र विस्तारका लागि पर्यटनलाई उद्योगका रुपमा विकास गर्नुपर्ने उहाँले आवश्यकता औँल्याए ।