
काठमाडौं, १५ भदौ– राजश्व संकलनमा ठूलो हिस्सा ओगटेको यातायात क्षेत्रको राजश्व संकलनमा गत आर्थिक वर्षमा उल्लेख्य बृद्धि भएको छ । पछिल्ला वर्षहरुमा नेपालमा भित्रिने सवारीसाधनको संख्या बढेसँगै त्यसबाट आउने राजश्वमा संकलनमासमेत उल्लेख्य वृद्धि भएको हो ।
गत आर्थिक वर्ष २०७३/०७४ मा आयात भएका विभिन्न सवारीसाधनबाट २० अर्ब ३२ करोड २९ लाख ६२ हजार रुपैयाँ राजश्व संकलन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७२/०७३ मा १३ अर्ब ८१ करोड ३९ लाख २९ हजार रुपैयाँ उठेको थियो । जुन ४७ प्रतिशतले बढी हो ।
तथ्यांकअनुसार विभागले संकलन गरेको राजश्वमा सवारी चालक अनुमतिपत्र र सवारी इजाजतपत्रको दस्तुर शिर्षकले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । सो शिर्षकमा गत आर्थिक वर्षमा २४ लाख १ हजार ५ सय ४२ रुपैँया राजश्व संकलन भएको छ भने अघिल्लो आर्थिक वर्ष २०७२/०७३ मा ९ लाख ९२ हजार २०३२ रुपैँया मात्रै संकलन भएको थियो । जुन १ सय ४२ प्रतिशतले बढी हो ।
विभागको तथ्यांकले प्रशासनिक दण्ड जरिवाना ह्वात्तै घटेको देखाएको छ । सो शिर्षकमा आर्थिक वर्ष २०७२÷०७३ मा १५ हजार ३ सय ३७ रुपैँया राजश्व संकलन भएकोमा अघिल्लो आर्थिक वर्षमा ७ हजार ३७ रुपैँया मात्रै संकलन भएको छ । जुन ५४ प्रतिशतले घटेको देखिएको छ ।
विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी साधन कर शिर्षकमा १७ लाख २३ हजार २ सय ३२ रुपैँया राजश्व संकलनमा बृद्धि भएको छ । सो शिर्षकमा आर्थिक वर्ष २०७२/०७३ मा ७० लाख ७५ हजार ३ सय ५० रुपैँया राजश्व संकलन भएको थियो, अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा ८७ लाख ९८ हजार ५ सय ८२ रुपैँया राजश्ज संकलन गरिएको तथ्यांकमा छ । जुन तुलनामा २४ प्रतिशतले बढी हो यस्तै सडक निर्माण तथा सम्भार दस्तुर शिर्षकमा आर्थिक वर्ष २०७२/०७३ मा ५४ लाख ६४ हजार १ सय २७ रुपैँया संकलन भएकोमा गत आर्थिक वर्षमा ८५ लाख ३० हजार २७ राजश्व उठेको थियो । जुन ५६ प्रतिशतले बृद्धि भएको देखियो ।
यातायात क्षेत्रको आम्दानी शिर्षकमा पनि विभागले उल्लेख्य राजश्व संकलन गरेको देखिएको छ । सो शिर्षकमा आव २०७२/०७३ मा २ लाख ५० हजार ४ सय ३० रुपैँया राजश्व संकलन भएकोमा अघिल्लो आवमा ५ लाख ६८ हजार४ सय २६ रुपैँया संकलन भएको छ । यो १ सय २७ प्रतिशतले बृद्धि हो । यसैगरी प्रशासनिक सेवा शुल्क शिर्षकमा ३ प्रशितले राजश्व संकलनमा बृद्धि भएको विभागले जनाएको छ ।
विलासी जिवनशैलीको महत्वपूर्ण वस्तु मानिने सवारी साधन आयातमा बृद्धि भएपछि राजश्व पनि बढेको विभागका प्रवक्ता टोकराज पाण्डेले लोकान्तरलाई बताए ।
यसैगरी यातायाता क्षेत्रको व्यवस्थापनमा पनि प्रभावकारिता देखिएकाले गत वर्ष सवारीचालक अनुमतिपत्र र इजाजतको राजश्व बढेको उनको भनाइ छ ।
व्यबसायीहरु भने सरकारले सवारी साधनमा विश्वमै नभएको कर थोपरेको आरोप लगाउछन् ।