२८ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

चुनावको मुखमा दुई करोड प्रकरणले रास्वपालाई तनाव, फसाउने षड्यन्त्र भएको ढाकाकुमारको दाबी

चुनावको मुखमा दुई करोड प्रकरणले रास्वपालाई तनाव, फसाउने षड्यन्त्र भएको ढाकाकुमारको दाबी

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
पार्टीका तर्फबाट महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले विज्ञप्ति निकाल्दै सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

छानबिन प्रक्रिया पूरा नभएसम्म सांसद तथा पार्टीको साधारण सदस्य हैसियतले पनि काम नगर्न नगराउन निर्देशन दिइएको छ । साथै, उनलाई २४ घण्टे स्पष्टीकरण पनि सोधिएको छ । 
००००
स्वास्थ्यमन्त्री बन्न पैसाको जोहो गर्नुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग फोनमा संवाद गर्ने श्रेष्ठ आफैं पनि मेडिकल डाक्टर हुन् । उनले क्षेत्रीय अस्पताल पोखरामा कामसमेत गरेका थिए । 
४ मंसिरको निर्वाचनमा रास्वपाले प्रत्यक्षमा ७ सीट जित्दा समानुपातिकतर्फ १३ सीट जितेको थियो । तर, उनलाई पार्टीले आदिवासी जनजातितर्फ पहिलो नम्बरमा राखेर सांसद बनाएको थियो । श्रेष्ठ रास्वपाका

गण्डकी प्रदेश सभापति पनि हुन् । कास्की पोखराका श्रेष्ठ ४६ वर्षका भएका छन् । यसअघि उनी सहकारीको ८२ लाख रुपैयाँ अपचलनको मुद्दामा पनि मुछिएका थिए ।

श्रेष्ठ २०५९ सालमा आफैंले पोखरामा स्थापना गरेको किसान कृषि सहकारीको अध्यक्ष बनेका थिए । उनी सांसद बनेपछि पनि सहकारीले बचतकर्ताको पैसा फिर्ता दिन सकेको थिएन ।
००००
छोटो समयमा उदाएर परम्परागत राजनीतिक दलमाथि धावा बोलेको रास्वपा नैतिक संकट र गम्भीर प्रश्नको घेरामा परेको छ ।

सुशासन, न्याय, पारदर्शिताजस्ता विषयमा आवाज उठाएर छोटो समयमा स्थापित रास्वपा आफैं गम्भीर प्रश्नको घेरामा परेको हो ।

नयाँ दलका रूपमा रास्वपाले २० जितेर छोटो समयमा चर्चा, परिचर्चा र वाहवाही बटुल्यो । तर, एकपछि अर्को विवाद र सुशासनविरुद्धका घटनासँग जोडिएर सभापतिदेखि मन्त्री र सांसदसम्म मुछिएपछि रास्वपामाथि नैतिक संकट देखिएको हो ।
००००
श्रेष्ठले व्यापारी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियोका विषयमा रवि लामिछानेले मुख खोलेका छन् । पैसा माग्ने सांसदलाई ७२ घण्टाभित्र कारबाही गर्ने उनले बताए । आइतवार चुनावी कार्यक्रमका सिलसिलामा बारा पुगेका लामिछानेले आफ्नो नजिकका भनिएका व्यक्तिलाई समेत घिसारेर सडकमा ल्याउने बताए । वैशाख १० को उपचुनावको मुखमा पार्टीलाई जोडेर आएको विवादले स्वयम् रवि र पार्टीलाई समस्या भएको छ । 
००००
यसैबीच ढाकाकुमार श्रेष्ठले आफूलाई फसाउन षड्यन्त्र भएको दाबी गरेका छन् । उनले बाहिर आएको फोन संवादको अडियो वास्तविक नभई सम्पादन भएको समेत विज्ञप्तिमार्फत बताएका छन्  ।
००००
सरकारी वार्ता टोलीले मिटरब्याज पीडितहरुको दोस्रो समूहसँग वार्ता सुरु गरेको छ । शान्तिबाटिकास्थित मिटरब्याजी पीडित रहेको स्थानमा पुगेर आइतबार पहिलो चरणको वार्ता गरिएको सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
००००
यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आइतबारम्म २० आरोही समूहका झन्डै दुई सय आरोहीहरूले अनुमति लिएका छन् ।
पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणका लागि २० आरोही समूहमा ३१ महिला र एक सय ६६ पुरुष गरी कूल एक सय ९७ आरोहीले अनुमति लिएका हुन् । यो ऋतुमा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आरोही आइरहेका छन् ।
००००
बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद र गोपनीयताको शपथ लिएका छन् ।  प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त दुवै जना मन्त्रीलाई पद र गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री शालिकराम जमकट्टेलले नेपाली कांग्रेसका तर्फबाट बहादुर सिंह लामालाई आर्थिक मामिला तथा योजनामन्त्री र तीर्थ लामालाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री नियुक्त गरेका थिए । उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
००००
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका बच्चाको जन्मदिने आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्नेगरी नयाँ परिपत्र जारी गरेको छ । यसअघि चैत २२ गते मावलीको थरबाट जन्मदर्ता गर्नेगरी वडा तथा पञ्जिकाधिकारीलाई परिपत्र गरेकामा त्यसको आलोचना भएपछि विभागले लैङ्गिक भूमिकालाई उच्च सम्मान गर्दै नेपालको संविधानको धारा ३९ अनुसार संरक्षण गर्न प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हकका लागि उल्लिखित परिपत्रका सम्बन्धमा थप स्पष्ट गरिएको जनाएको छ ।
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै पर्यटन सद्भावना दूतको नियुक्ति खारेज गरेको छ ।
पूर्व पर्यटन मन्त्री जीवनराम श्रेष्ठले जाँदाजाँदै विभिन्न देशका लागि गरेको पर्यटन सद्भावना दूतको नियुक्ति पर्यटन मन्त्रालयले आइतवार खारेज गरेको हो ।
००००
नेपाल धितोपत्र बोर्डलाई नयाँ ब्रोकर, धितोपत्र बजार र कमोडिटी बजारलाई अनुमति दिन बाटो खुलेको छ । 

बोर्डले नयाँ ब्रोकर, स्टक र कमोडिटीको इजाजत दिन आवेदन माग गरेर अगाडि बढिसकेको प्रक्रिया रोक्न ४ कात्तिकमा सर्वोच्च अदालतमा रिट परेको थियो ।
सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिट खारेज गरिदिएको हो । यससँगै अब नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटीको इजाजत दिने बाटो खुलेको हो ।
००००
प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका चारजना प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । 
आइतवार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच एआईजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
००००
काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गरेका प्रसुती गृहका डाक्टर र प्रतिवादीतर्फका बयानकर्तालाई झिकाउन आदेश दिएको छ ।
अन्तिम सुनुवाइ गर्नुअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालले प्रतिवेदक डाक्टरलाई झिकाउने आदेश आइतवार दिएका हुन् ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले सचिव लेखराज भट्टको निवास पुगेका छन् ।
धनगढीको कैलाली पुगेका प्रचण्ड गेटास्थित भट्टको निवासमा पुगेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्