२७ असार २०८३, शनिबार
उपनिर्वाचन विशेष

'ग्राउन्ड जिरो'– चितवन २ : भरतपुरको गरमागरम चिया गफमा जब उम्मेदवार मिसिए

चैत २७, २०७९
'ग्राउन्ड जिरो'– चितवन २ : भरतपुरको गरमागरम चिया गफमा जब उम्मेदवार मिसिए

सोमवार बिहान चितवनको भरतपुरस्थित ‘विकास चोक’ पुग्दा राजनीतिक बहस गरमागरम ढंगले चलिरहेको थियो । विकास चोक नाम जस्तै विकासका कुरा र राजनीतिक बहस चलिरहने थलो रहेछ ।

स्थानीयका अनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर ५ र ७ को चिया पिउने 'जक्सन' भएका कारण त्यहाँ बिहानदेखि बेलुकासम्मै राजनीतिक कुराकानी चलिरहन्छ । चितवनकै माडी क्षेत्रबाट भरतपुर आएर बसेकाहरू त्यहीँको एउटा चिया पसलमा गफिँदै गरेको भेटिए ।

त्यतिबेलै (बिहान करीब ७ बजे) संयोगले नेकपा (एमाले)का तर्फबाट चितवन– २ का उम्मेदवार रामप्रसाद न्यौपाने पनि आइपुगे । त्यहाँ ठूलै स्वरमा वादविवाद चलिरहेको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो टेपबारे अलि बढी चर्चा थियो । शायद नयाँ विषय भएकाले हुनुपर्छ ।

‘नमस्कार, म पनि सहभागी हुन सक्छु ? चिया गफमा मिसिन खोज्दै न्यौपानेले सोधे ।

 

त्यहीँ रहेका एक वृद्धले जवाफ फर्काए– ‘तपाईंजस्तै नेताहरू यहाँ आइरहुन् र गफ गर्न पाइयोस् भन्ने नै हाम्रो चाहना हो ।’

त्यसपछि उनीहरूले कुन नेताले के गरे, के गरेनन् भन्ने विषय उठाएर गुनासो पोख्न थाले । चितवनलाई परीक्षणको थलो बनाइएको गुनासो समेत त्यहाँ आयो ।

एक वृद्धले सोधे, ‘के चितवन बाहिरबाट आउने मान्छेहरूलाई परीक्षण गर्ने थलो मात्र हो ?’ लगत्तै उनले आफ्नो निष्कर्ष पनि सुनाए, ‘हुन त यहाँका नेताहरूले केही गर्न नसकेर नै यो अवस्था आएको हो ।’

उनको कुरा भुइँमा खस्न नपाउँदै न्यौपानेले जवाफ फर्काए, ‘म त यही माटोमा हुर्कें । तपाईंहरूले चिन्दै आएको मान्छे हुँ । यसपालि आफ्नै माटोको मान्छेलाई जिताउनुस् । काम गरिनँ भने गाली गर्नुस् । काम नगर्दा मेरो कान निमोठेर गाली गर्ने अधिकार तपाईंहरूलाई छ ।’

null

त्यहीँ रहेकी सम्झना रेग्मीले जुन नेता आए पनि आफूहरूका समस्या जहाँको त्यहीँ रहेको बताइन् । ‘ल तपाईं आफैं भन्नुस् त, महंगी कहाँ पुगेको छ । यसलाई नेताहरूले समाधान गरेको खै ?’ रेग्मीले गुनासो पोखिन् । 

नेताहरूले सामान्य जनताको दैनिकीसँग जोडिने विषयभन्दा आफ्नो स्वार्थपूर्तिमा मात्र ध्यान दिएकाले समस्या बल्झिरहेको उनको भनाइ थियो ।

छ महिना नपुग्दै पुनः चुनाव हुन लागेको भन्दै भुवन पाठक नाम गरेका युवाले आक्रोश पोखे । फेरि कुन दिन अर्को चुनाव हुने हो भन्ने उनको आशंका थियो ।

उनलाई आश्वस्त पार्न खोज्दै न्यौपानेले भने, ‘त्यही अवस्था आउन नदिनका लागि त म तपाईंहरूको बीचमा आएको छु । तपाईंहरूले जुन पार्टीमा आस्था राखे पनि यसपालि मलाई जिताउनुस् । म काम गरेर देखाउँछु । काम गर्न नसकेको खण्डमा झक्झक्याउनका लागि, गाली गर्नका लागि म यहीँ त छु,’ न्यौपानेले भने ।

त्यहीँ भेटिएका सूर्य भट्टराईले नयाँ पुराना सबै नेताहरूप्रति आशा मर्न थालेको बताए । ‘नयाँहरूप्रति केही सहानुभूति थियो, तर के–के काण्ड आउन थाले, हामी त निराश छौं,’ उनले भने ।

स्थानीय विकास भुसालले उम्मेदवारहरू एकले अर्कालाई गाली गरेकोमा असन्तुष्टि जनाए । 

‘तपाईंका भाषण मैले सामाजिक सञ्जालमा हेरिरहेको छु । एकले अर्कालाई बढी गाली गर्नुभयो कि भन्ने मेरो बुझाइ छ । तपाईं युवा भएको हिसाबले बुढाहरूले जस्तो गालीभन्दा पनि एजेन्डाको कुरा गर्नुस्,’ भुसालले न्यौपानेलाई सुझाव दिए ।

न्यौपानेले आफूले कसैलाई गाली गरेको भन्दा पनि प्रतिस्पर्धी उम्मेदवारको नैतिक पतन र विवादको विषयमा जनालाई सचेत गराएको तर्क गरे ।

‘भुसालजी, तपाईंले भन्नुभएको कुरा मैले हृदयदेखि नै मनन गरेको छु । यहाँको सुझावका लागि पनि धन्यवाद, तर मैले अहिलेको अवस्थाको बारेमा मेरा मतदातालाई त जानकारी गराउनुपर्‍यो नि होइन र ?’ न्यौपानेले भने ।

चितवन क्षेत्र नम्बर २ का जनताको समस्याबारे आफू जानकार रहेकाले त्यसैअनुसार एजेन्डा अगाडि सारेको उनको जिकिर थियो ।

उनले यति भन्न नपाउँदै त्यहीँ रहेका पाठकले प्रतिप्रश्न गरे, ‘रामजी, हिजो हाम्रा नेता प्रचण्डलाई र रेणुलाई पनि गाली गर्नुभएको थियो नि !’

‘हिजोका दिनमा म एमाले चितवनको अध्यक्ष भएको नाताले राजनीतिक कुरा गरेको हुँ । तपाईंजस्तो राजनीति बुझेको मान्छेले बुझ्नहुन्छ । त्यसलाई नितान्त राजनीतिक कुरा हो भन्ने हिसाबले लिइदिनुहोला,’ न्यौपानेले पाठकलाई जवाफ दिए ।

यति कुराकानी चल्दा झण्डै आधा घण्टा बितिसकेको थियो । कुराकानी बिट मार्नेतिर गयो । न्यौपाने आफूलाई मत दिन सबैलाई आग्रह गरेर त्यहाँबाट बिदा भए ।

त्यहाँ रहेकाहरूले उनलाई जितको शुभकामना दिए । उनी बिदा भएपछि पनि राजनीतिक कुराकानी भने जारी नै रह्यो ।

 

salt training

कमेन्ट गर्नुहोस्