२९ जेठ २०८३, शुक्रबार

रास्वपाको बैठक बस्दै, के होला बार्गेनिङ प्रकरणमा निर्णय ?

रास्वपाको बैठक बस्दै, के होला बार्गेनिङ प्रकरणमा निर्णय ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठबारे आवश्यक निर्णय गर्न लागेको छ । 
यसका लागि पार्टीको अनुशासन आयोगको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ । सो बैठकले ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्नेबारे आवश्यक निर्णय गरेर केन्द्रीय समितिमा सिफारिस गर्नेछ । 
रास्वपा अनुशासन आयोगका संयोगक भरतमणि देवकोटाका अनुसार श्रेष्ठले सोमबार नै स्पष्टीकरण बुझाइसकेका छन् । 

स्पष्टीकरणपत्रमा उनले आफूलाई जोडेर आएको अडियो नक्कली भएको जिकिर गरेका छन् । उनले अडियो सम्पादन भएर आएको जिकिर गरेपनि पार्टीले गर्ने जस्तोसुकै कारबाही भोग्न भने तयार रहेको बताएका छन् ।

आइतबार पनि उनले एक विज्ञप्तिमार्फत आफूविरुद्ध षड्यन्त्र भएको बताएका थिए । यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका उनले अडियो सम्पादन भएकै कुरा बताएका थिए । तर, पार्टीले भने छानबिनको निर्णय गर्दै उनलाई निलम्बन गरिसकेको छ। 

उनले गल्ती गरेको पार्टीका नेताहरु बताउँछन् । उनीसँग जोडिएर थप अडियोहरुसमेत सार्वजनिक भइरहेकाले उनको सांसद पद जाने सम्भावना रहेको नेताहरुको भनाइ छ । यसअघि नै सभापति रवि लामिछानेले दोषीलाई उन्मुक्ति नदिने बताइसकेका छन् । श्रेष्ठ समानुपातिकतर्फबाट सांसद बनेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्