०१ असार २०८३, सोमबार

वैशाख १ गतेदेखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध

वैशाख १ गतेदेखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध
प्रतिकात्मक तस्वीर

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँ वर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुम्रपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन गर्न निषेध गर्ने भएको छ ।

गत पुस २७ गते बसेको नगर सभाको निर्णयअनुसार महानगर क्षेत्रभित्र धुम्रपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारीसाधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ ।

केही हप्ताअघि महानगरले धार्मिक संघसंस्था, साउन्ड सिस्टम प्रतिनिधि लगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी खाएर शहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो । 

विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एक मात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको प्रमुख कोइरालाले बारम्बार दोहोर्‍याउँदै आएका छन् । उनले महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर संकलन लगायतका अभियान सञ्चालन गरिरहेको सुनाए । 

पार्किङस्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रमुख कोइरालाको भनाइ छ । 

उनले महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन सरोकारवालालाई आग्रह पनि गरेका छन् । ‘विराटनगर हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य शहरका रूपमा स्थापित गर्नुपर्छ,’ प्रमुख कोइरालाले भने, ‘शहरको सुन्दरता र सभ्यतासित ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ । महानगरले अघि सारेको अभियानमा सबैको साथ रहने मैले विश्वास लिएको छु ।’

ध्वनि प्रदूषण नियन्त्रणका लागि महानगरवासीबाट थुप्रै सुझाव आएको उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्