
भारतको निर्वाचन आयोगले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) लाई राष्ट्रिय दलको मान्यता दिएको छ ।
साथै आयोगले राष्ट्रवादी कांग्रेस, तृणमूल कांग्रेस र भारतीय कम्युनिस्ट पार्टीको राष्ट्रिय पार्टीको दर्जा खोसेको छ ।
आपले राष्ट्रिय दलको मान्यता पाएपछि मुख्यमन्त्री केजरीवालले खुशी व्यक्त गरेका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘यति कम समयमै राष्ट्रिय पार्टी ? यो कुनै चमत्कारभन्दा कम छैन । सबैलाई धेरैधेरै बधाई !’
गुजरात प्रदेशमा भएको चुनावपछि आपले आफू राष्ट्रिय दल बनेको दाबी गरेको थियो तर आयोगले त्यसबारे कुनै निर्णय लिएन । निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता दिनेबारे निर्णय नगरेपछि असन्तुष्ट हुँदै आप अदालतसम्म पुगेको थियो । आपका कर्नाटक संयोजक पृथ्वी रेड्डीले कर्नाटक उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले आयोगलाई यसबारे उपयुक्त निर्णय लिन समय दिएपछि आयोगले आपलाई राष्ट्रिय दलको मान्यता दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।