०२ साउन २०८३, शनिबार

विकृतिहरूको पर्दाफास गर्ने पुस्तक ‘निसङ्कोच अभिव्यक्ति’  लिएर आए डा. संग्रौला

कात्तिक २०, २०७४
विकृतिहरूको पर्दाफास गर्ने पुस्तक ‘निसङ्कोच अभिव्यक्ति’  लिएर आए डा. संग्रौला
काठमाडौं १५ भदौ – संविधानविद् तथा प्रखर लेखक/साहित्यकार डा. युवराज संग्रौलाको नयाँ शैली र विषयवस्तु रहेको पुस्तक ‘निसंकोच अभिव्यक्ति’ बिहीवारदेखि बजारमा आएको छ ।

आफ्नो ३१ वर्षको कानूनी शिक्षण क्षेत्रमा सँगालेका बौद्धिक प्राध्यापकीय अनुभूतिको सारसँगै महान्यायाधिवक्ता, विभिन्न उच्च प्रशासनिक क्षेत्रका कानुनी सल्लाहकार हुँदै सामाजिक तल्लो एकाइसम्मका कार्यानुभव, यथार्थ, तथ्य र समस्याका चुरोसहित तिनको समाधानको बाटोलाई औँल्याउने एउटा विशेष कृति बनेको छ संग्रौलाको ‘निसंकोच अभिव्यक्ति’ ।

वर्तमानमा नेपाली राष्ट्रवाद मूल २ धारमा विभक्त भई चर्चामा रहेका छन् । एकातिर यो निराशावादको पराकाष्ठा र अर्कातिर आदर्शवादी भुलभुलैयामा तैरिरहेको छ । डा. संग्रौलाले यिनै विरोधाभाषभित्रका गम्भीर विकृति र विसङ्गतिका तथ्यहरूलाई पस्कँदै, राष्ट्र एउटा चुनौतीपूर्ण मोडमा उभिएको तर त्यसको अवसान अल्पचेत भएका निराशावादीहरूले भनेजसरी कदापि हुन नसक्ने सन्देश प्रस्तुत गरेका छन् ।

कृतिले विश्व मानव सभ्यता र सामाजिक विकास शृङ्खलाका पूर्व र पश्चिम दुवै धारभित्रका सत्य र मिथ्याकरणहरूलाई स्रोत सन्दर्भहरूसहित प्रस्ट पार्दछ । दर्शनको मन्थन, दार्शनिक वाद र विचारहरूको केस्राङ्कन, मूल्याङ्कन र त्यसको पर्गेल्याइसँगै कानुनको उत्पत्ति, विकास, सदुपयोग, दुरूपयोग, परिणाम र वर्तमानलाई इतिहासले छोडेका असरका छिर्काहरूको प्रस्तुतीकरणका सन्दर्भमा लेखकको विज्ञता र क्षमताको नमुना पुस्तकमा आउन सकेको छ ।

प्रस्तुत कृति विधातात्विक महत्वका हिसाबले एउटा विचित्रको संयोजन पनि हो । कृतिकारको आत्मजीवनीको मूल धारभित्र बहुविधागत सिर्जनाबान्कीको प्रयोग भएको छ । निबन्धात्मकता कृतिको भाषिक शक्ति बनेको छ ।

आख्यानात्मकताले प्रस्तुतिलाई आकर्षक बनाएको छ । लेखकीय भावनात्मकताले काव्यात्मकताको छनक दिएको छ भने अनुभव अनुभूति र यथार्थको तथ्यपरक संयोजनले इतिहास, समाजशास्त्र, दर्शन, ज्ञान र समाजको मीमांसा गरेको छ ।

कृतिको परिच्छेद/खण्डको स्वरूप, संरचना र सन्दर्भसामग्रीको विवरणले पाठ्य सामग्रीको छनक दिएको छ । यात्रावृत्तान्त/संस्मरणले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश समेटेको र अन्वेषणले शोधपरक प्रस्तुतिलाई पनि प्रयोग गरेका कारण समग्र विधागत अन्तर्घुलनयुक्त कृति बन्न पुगेको छ ।

जम्मा ८ परिच्छेदयुक्त ५०० पृष्ठको गहकिलो आयतनमा नेपालको न्यायपालिका, राजनीति, शिक्षा प्रणाली, लैङ्गिकलगायत सामाजिक स्वतन्त्रता र सहभागिताको पाटोभित्रका समग्र विकृति विसंगति र तिनको जडलाई आफ्नो भोगाइ र यथार्थसहित निडर भई लेखकले दृष्टान्तहरू पस्केका छन् ।

यी समग्र विसंगतिलाई चिर्दै अजेय, अमर शास्वत् तथा सनातन पहिचानको इतिहास बोकेको मुलुकका रूपमा नेपाल राज्यलाई अकण्टक राख्नका निम्ति यसको कूटनीतिक ऐतिहासिक अवस्थाको विश्लेषण, त्यसको सुधार, नेपाली चेतनास्तरको अवस्था र त्यसको सुदृढीकरणका उपायहरूमा छलफल गरेका छन् ।

राष्ट्रिय सुरक्षामाथिको अतिक्रमणका सन्दर्भ रहेका ज्यादा संवेदनशील पक्ष र तिनको मजबुतीकरणका ठोस आधार रहेको यस कृतिको मूल चुरो राष्ट्रको समृद्धिमा सच्चा राष्ट्रवादी नेपालीको भूमिकाको खाँचोलाई उजागर गर्नु रहेको देखिन्छ । चीन तथा विशेषतः तिब्बतसँगको मित्रताको ठोस र प्रामाणिक इतिहाससहित हाम्रो इतिहास र त्यसका कमजोरीहरूलाई सच्याउनु पर्ने बाटो पनि लेखकले इङ्गित गरेका छन् ।

कृतिमा विशेषतः नेपाली न्यायपालिका, कार्यपालिका (प्रशासन) र राजनीतिक वृत्तका आम मानिसले थाहा नपाएका कतिपय रोचक र विशेष आन्तरिक कुराहरू लेखकका संस्मरणहरूभित्र आएकाले पनि सबैका लागि पठनीय र रुचिकर हुनसक्ने देखिन्छ । भाव र विषय दुवै पक्षमा कृति निकै गहन रहेको छ । यो पुस्तक लेखक संग्रौलाको उच्च बौद्धिक चेतना र प्राज्ञिक अनुभव तथा अनुभूतिहरूको उपज हो भन्ने कुरा पुस्तकले प्रस्तुत गर्न सकेको छ ।
– रामचन्द्र फुयाल

salt training

कमेन्ट गर्नुहोस्