२९ जेठ २०८३, शुक्रबार

चन्द्र ढकालको आह्वान- वर्तमान आर्थिक संकट समाधानको रणनीति तय गर्न सबै जुटौँ

चन्द्र ढकालको आह्वान- वर्तमान आर्थिक संकट समाधानको रणनीति तय गर्न सबै जुटौँ

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले वर्तमान संकट समाधानका लागि बृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभा उद्घाटन समारोहमा ढकालले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्न आग्रह गर्दै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा बृहत् राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने बताए। 

वरिष्ठ उपाध्यक्ष ढकाल यो साधारण सभाबाट महासंघको अध्यक्ष बन्दै छन्।

'यतिखेर मुलुकको अर्थतन्त्र संकटको डिलमा छ । आर्थिक गतिविधि शिथिल छन् । आपूर्ति प्रणाली खलबलिएको छ । उद्योगी/व्यवसायीहरू समस्यामा छौँ । विकास खर्च अत्यन्त न्यून छ । राजश्वले साधारण खर्चसमेत धान्न सकिरहेको छैन,' उनले भने, 'तर, अर्थतन्त्रका सबै सरोकारहरूले बेलैमा बिचार पुर्‍याउने हो भने अहिलेको आर्थिक समस्यालाई पार लगाउन गाह्रो छैन ।'

उनले हाम्रोजस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको बताउँदै यसका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने र नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र ब्याजदर घट्ने उपकरणहरू ल्याउनुपर्ने बताए।  

ढकालको मन्तव्यको पूर्णपाठ

यस गरिमामय सभामा पाँच वटा विषय केन्द्रित गरेर म मेरा धारणा राख्न चाहन्छु । 

पहिलो– वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने
दोस्रो– लगानीको वातावरण बनाउने
तेस्रो– राज्य र निजी क्षेत्रबीच साझेदारी सुदृढ गर्ने
चौथो– दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने
र, पाँचौँ– व्यवसायीहरूको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने ।

यतिखेर मुलुकको अर्थतन्त्र संकटको डिलमा छ । आर्थिक गतिविधिहरू शिथिल छन् । आपूर्ति प्रणाली खलबलिएको छ । उद्योगी/व्यवसायीहरू समस्यामा छौँ । विकास खर्च अत्यन्त न्यून छ । राजश्वले साधारण खर्चसमेत धान्न सकिरहेको छैन । हालै मात्र विश्व बैंक र एशियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर संशोधन गर्दै ४.१ प्रतिशतमा सीमित रहने अनुमान प्रकाशन गरेका छन् । 

महासंघको यही मञ्चबाट गत वर्ष धेरै वक्ताहरूले नेपाल श्रीलंका बन्नै लाग्यो भनेर भनिरहँदा मैले यही मञ्चबाट नेपाल श्रीलंका बन्दैन भनेको थिएँ । श्रीलंका आर्थिक रुपमा टाट पल्टिँदा त्यसको चासो र चर्चा नेपालसम्मै आएको थियो । हाम्रो र श्रीलंकाको समस्याभिन्न भएकाले नेपाल श्रीलंका बन्दैन भन्ने मेरो तर्क थियो । कल्पना गरिएको त्यो डर हामीमाझ त आइपुगेन ? तर श्रीलंकाको अवस्था भइहाल्छ कि भन्ने डरैडरले लिइएका कतिपय नीतिहरूका मुलुकको अर्थतन्त्र अहिलेको अवस्थामा आइपुगेको हो भन्ने हाम्रो अनुमान छ । 

अवस्था भयावह नहुँदै सबैले बेलैमा बिचार पुर्‍याउने हो भने अहिलेको आर्थिक समस्यालाई पार लगाउन गाह्रो छ भन्ने मलाई लाग्दैन । म सधैँ कालो बादलभित्र चाँदीको घेरा देख्ने मान्छे हुँ । गरे असम्भव केही छैन भन्ने मलाई लाग्दछ । त्यसैले हाम्रो जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव छ । यसका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ । नेपाल राष्ट्र बैंकले नीतिगत सहजीकरण गर्नुपर्छ । राज्यका सबै निकायले उद्योग व्यवसाय सञ्चालन गर्न वातावरण बनाइदिनुपर्छ । व्यवसाय र व्यवसायीको सुरक्षा ग्यारेन्टी गरिदिनुपर्छ । स्वदेशी र विदेशी लगानीको वातावरण सहज बनाउनुपर्छ । 

सम्माननीय प्रधानमन्त्रीज्यू,
अहिले अर्थतन्त्रमा देखिएको संकटको उपचार तत्काल खोजौँ । समाधानको रणनीति बनाउन एउटा बृहत् राष्ट्रिय विमर्शको लागि प्रस्ताव गर्दछु । नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा अन्य नियामक निकायहरू, अर्थविद्हरू र निजी क्षेत्रसहितको राष्ट्रिय विमर्शले समस्या समाधानको बाटो पहिल्याउने छ । यसले आर्थिक संकट समाधानको रोड म्याप दिनेछ । त्यसको आयोजना गर्न महासंघ तयार छ । 

विश्वका धनी वा सफल व्यक्तिहरूका कथामा हाम्रो समाज खुब रमाउँछ । उनीहरूका सफलतालाई हामी सगौरव प्रस्तुत पनि गर्छौं । तर ती जीवनी र सफलताका कथा पढ्नुलाई मैले यहाँ नराम्रो भन्न खोजेको होइन । किनभने हामीले पनि ती सफलताबाट प्रेरणा लिन सक्छौँ । तर खोज्ने हो भने त्यस्ता सफलताका कथाहरू हाम्रा वरिपरि पनि कैयौँ छन् । सानो व्यवसायबाट शुरू गरेर अर्बौंको लगानी, करोडौँको राजश्व र हजारौँको रोजगारी सिर्जना गर्न सक्ने व्यावसायिक र कर्मशील हातहरू हामीसँगै छन् । तर, यहाँ मैले हाम्रा आफ्नै मौलिक सफलताहरूमा मुलुकको समृद्धि देख्ने मानसिकता राज्यको किन बन्न सकेन भन्ने चासो मात्र राख्न खोजेको हो । नजिकको तीर्थ हेला भने जस्तै हाम्रै देशका उद्यमी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन अझै सकेका छैनौँ । उनीहरूका उद्यमशीलतामा हामीले आवश्यक हौसला थप्न सकेका छैनौँ । त्यसो त हामी उद्यमीमाथि देश र नागरिकले हेर्ने दृष्टिकोण पनि सकारात्मक बन्न सकिरहेको छैन ।  

सम्माननीय प्रधानमन्त्रीज्यू,
हामीले मुलुकका यी समस्यामध्ये अधिकांशको कारण राजनीतिक अस्थिरता हो भन्दै आएका छौं । तर अधिकांश राजनीतिक मुद्दाहरूको सम्बोधन भई देशमा ३ तहको राज्य संरचना बनिसकेको छ । त्यसैले अब पनि राजनीतिक अस्थिरता देखाइरहने छुट हामीलाई छैन । अब भने आर्थिक समृद्धि, आर्थिक विकास, रोजगारी, समुन्नति र मुलुकलाई केन्द्रमा राखेर अघि बढौँ भन्ने मेरो विनम्र आग्रह छ । 

सम्माननीय प्रधानमन्त्रीज्यूले नै मुलुकको पछिल्लो राजनीतिक परिवर्तनको नेतृत्व गर्नुभएको छ । आर्थिक परिवर्तनको पनि नेतृत्व गर्ने अवसर यहाँलाई प्राप्त छ । परिणाममुखी काम गरेर देखाउने सम्माननीयज्यूको दृढतालाई सम्मान गर्दै शुभकार्यमा ढिला नगरी अब सबै मिलौँ।

salt training

कमेन्ट गर्नुहोस्