
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई मजबुद बनाउन शिक्षक संघको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै उनले पार्टी प्रतिबन्धित अवस्था रहँदा नेपाल विद्यार्थी संघसँगै शिक्षकहरूको पनि महत्वपूर्ण भूमिका रहेको स्मरण गरे।
सभापति देउवाले कांग्रेसले शिक्षकलाई जुन सम्मान दिनुपर्ने हो त्यो दिन नसकेको समेत बताए।
'पार्टी बलियो बनाउन शिक्षकको ठूलो सहयोग छ, कांग्रेसलाई मजबुद बनाउनुपर्छ', सभापति देउवाले भने। उनले कांग्रेसलाई बहुमत ल्याउने गरी सहयोग गर्न सबैलाई आग्रहसमेत गरे।
संघका अध्यक्ष राजेन्द्रराज पौडेलले संविधान निर्माण भएको ७ वर्ष पूरा हुँदा पनि संघीय शिक्षा ऐन निर्माण हुन नसक्नु दुःखको कुरा भएको बताए। उनले माओवादी जनयुद्धका क्रममा मारिएका शिक्षकका छोराछोरीलाई सरकारले हेर्न नसकेको गुनासोसमेत गरे।
‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेसाको पूर्वाधार’ भन्ने मूल नाराका साथ शुरू संघको नवौँ संघीय महाधिवेशनमा देशभरबाट सात सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने छ ।