
मालपोत कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेलसहित ४ जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले पोखरेलसहित सोही कार्यालयका अर्का तत्कालीन कार्यालय प्रमुख गमबहादुर विश्वकर्मा, नायव सुब्बा मदन प्रसाद गुप्ता, लेखापाल नागेन्द्र प्रसाद चौधरीउपर राजस्व रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७२/०७३ मा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम, रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर नियमानुसार दाखिला नगरी हिनामिना गरेको भन्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
पोखरेलले मालपोत कार्यालय पर्सामा दैनिक लिखत रजिष्ट्रेशन पारित हुँदा राजस्वबापत प्राप्त हुने रकममध्ये ९३ लाख ६६ हजार रुपैयाँ हिनामिना गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ ।
प्रतिवादी मदन प्रसाद गुप्तालाई राजस्व हिनामिनामा प्रोत्साहन गरेको आयोगले आरोपपत्रमा ठहर छ।
त्यस्तै तत्कालीन अर्का कार्यालय प्रमुख विश्वकर्माविरुद्ध पनि १ लाख ४१ हजार ८२५ रुपैयाँ, तत्कालीन नासु गुप्ताविरुद्ध ९५ लाख ८ हजार ३४ रुपैयाँ, तत्कालीन लेखापाल चौधरीविरुद्ध ९५ लाख ८ हजार ३४ रुपैयाँ राजश्व हिनामिना गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ।