२८ जेठ २०८३, बिहीबार

एसोसिएट्सबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका बस्नेत भन्छन्- वैदेशिक लगानी भित्र्याउँछु

एसोसिएट्सबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका बस्नेत भन्छन्- वैदेशिक लगानी भित्र्याउँछु

युवा उद्यमी देशबन्धु बस्नेत (अजित)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएट्स तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

हाल महासंघको केन्द्रीय सदस्य एवं द्विदेशीय तथा एनआरएन फोरमका सभापति रहेका बस्नेतले आफ्नो अनुभवलाई आत्मसात गर्दै  महासंघमा युवाको प्रतिनिधित्वको नयाँ आयाम थप्न पुनः एसोसिएट तर्फबाट सदस्य पदमा उम्मेदवारी दिएको जानकारी दिएका छन् । 

नेपालमा पर्यटन र होटल व्यवसायमा आफ्नो लगानीलाई विस्तार गरेका युवा उद्यमी बस्नेतले वैदेशिक लगानी भित्र्याउन अहम् भूमिका निर्वाह गर्दै आएका छन् ।

उनले द्विराष्ट्रिय तथा एनआरएन फोरमको सभापति भएर काम गर्दा महासंघ इतिहासमै पहिलो पटक द्विराष्ट्रिय संघका नेपालस्थित वाणिज्य दूतहरूलाई महासंघमा ल्याएर नेपालमा लगानीको सम्भावनाबारे छलफल गराएका थिए भने गैरआवासीय नेपालीको लगानी भित्र्याउनसमेत सम्बन्धित देशका प्रतिनिधिसँग छलफल गरेका थिए । 

'सक्षम निजी क्षेत्र समृद्व अर्थतन्त्र' को नारालाई अघि बढाएका उनले महासंघभित्र एसोसिएट्स सदस्यहरूको हकहित तथा उनीहरूबीच अन्तरसंवादलाई थप दरिलो बनाउन सदस्य पदमा उम्मेदवारी दिएको बताएका छन् । 

‘अहिलेको अवस्थामा देशभर रहेका सार्वजनिक र निजी क्षेत्रका अग्रणी एसोसिएटका समस्या र मुद्दालाई महासंघमा बहसको रुपमा स्थान प्रदान गरी तार्किक निष्कर्ष पुर्‍याउनुपर्ने आवश्यक छ,’ उनले भने, ‘विभिन्न ४० भन्दा बढी क्षेत्रमा रहेका सार्वजनिक र निजी क्षेत्रका अग्रणी एसोसिएटलाई क्षेत्रगत समूहमा संगठित गरी विषय विज्ञसँग परामर्शमा व्यावसायिक हित र संरक्षण गर्न विशेष योजना तथा कार्यक्रमलाई अगाडि बढाउनेछु ।’ 

अहिलेको आर्थिक मन्दी तथा उच्च बैंक ब्याजदरका कारण अहिले धेरै उद्योगी व्यवसायीहरू मारमा परेको भन्दै आफू निर्वाचित भएर गएसँगै राष्ट्र बैंक र सरकारसँग वार्ताको टेबुलमा बसेर तत्काल समस्या समाधान गर्ने बताए ।

उनले सार्वजनिक र निजी क्षेत्रका अग्रणी एसोसिएटले महासंघमा आर्थिक रुपमा ७० प्रतिशत हिस्सा ओगटेका जानकारी दिँदै सोही अनुरूप  महासंघमा आपनत्व र अधिकार प्रदान गर्न ‘एसोसिएटसँग महासंघ कार्यक्रमलाई अगाडि बढाइने पनि बताए।

सार्वजनिक र निजी क्षेत्रका एसोसिएटको आत्मसम्मानलाई उजागर गर्दै नेतृत्व गर्न तयार बनाउन गोष्ठी, लगानीमैत्री वातावरण तथा सरकारसँग व्यवसायीका समस्या राखेर समाधान गर्न सक्ने सक्षम महासंघ आजको आवश्यकता रहेको जिकिर गरे। 

महासंघको नेतृत्वमा पुगे निजी क्षेत्रमैत्री वातावरण तयारका साथै सार्वजनिक र निजी क्षेत्रका अग्रणी एसोसिएटलाई प्रदेश जिल्ला नगर र क्षेत्रगत रूपमा एकीकृत गरी नीति निर्माण तहमा पुर्‍याउन समन्वय गर्ने विश्वास दिलाए।

आर्थिक संकटबाट गुज्रिएको अहिलेको अवस्थालाई सरकार सहकारी र निजी क्षेत्र गरी राष्ट्रको ३ खम्बे अर्थनीतिमा निजी क्षेत्रको महत्व र भूमिकालाई प्रभावकारी बनाउन आवश्यक रहेको समेत उनले तर्क गरे। 

salt training

कमेन्ट गर्नुहोस्