
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन्।
कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका-४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले भाषण गर्ने तर गाउँठाउँ नबुझेको व्यक्ति अहिले जनताले नचाहेका बताए।
'वैशाख १० गते हुने उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्यांकन गर्नुहुनेछ', नेता सिंहले भने।
हरेक पार्टीमा असन्तुष्टि भए पनि त्यसलाई अहिले थाँती राखेर चुनावमा एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको उनले जिकिर गरे।
नेता सिंहले सत्ता गठबन्धनका उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो नजाने पनि बताए। वर्तमान सरकार विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको उनको भनाइ थियो।
तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभई तनहुँको विकासका लागि भएको बताए।
गाउँको उन्नति र प्रगति अहिलेको आवश्यकता भएको भन्दै उनले आफू त्यसैमा केन्द्रित भएको पनि विश्वास दिलाए।