
मन्त्री बन्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘कोर टीम’लाई बुझाउन भन्दै सांसद ढाकाप्रसाद श्रेष्ठले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड माग गरेको अडियो प्रकरणले रास्वपालाई ज्वरो काडेको छ ।
आफूमाथि कारवाही गरिए 'कोर टीम' सार्वजनिक गर्दिने ढाका श्रेष्ठको चेतावनीले रास्वपामा यतिबेला सन्नाटा छाएको छ ।
दुर्गा प्रसाईंसँग २ करोड मागिएको अडियो आइतवार सार्वजनिक भएको थियो । लगत्तै रास्वपाले श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरण सोध्ने र छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । ७२ घण्टाभित्र छानबिन गरेर दोषी पाइए कारवाही गर्ने पनि रास्वपाले निर्णय गरेको थियो ।
७२ घण्टाको समयसीमा बुधवार सकिँदैछ । श्रेष्ठमाथि पार्टीको अनुशासन समितिले मंगलवार बयान लिएको थियो । त्यस क्रममा श्रेष्ठले त्यो अडियो आफ्नो नभएको जिकिर गरेका थिए । साथै उनले आफूमाथि कारवाही गरिए कोर टीमको खुलासा गर्ने चेतावनी दिएका थिए ।
रास्वपाले श्रेष्ठकै अडियो भएको निष्कर्ष निकालेको छ । पैसा मागिएका व्यक्ति दुर्गा प्रसाईंले श्रेष्ठसँग संवाद भएको पुष्टि गरिसकेका छन् ।
सांसद श्रेष्ठमाथि कारवाहीको निर्णय लिन बुधवार दिउँसो रास्वपा केन्द्रीय समितिको बैठक बस्दैछ ।
‘कोर टीम’को खुलासा गर्ने चेतावनीका कारण श्रेष्ठमाथि कारवाहीको निर्णय लिन रास्वपालाई सकस परेको हो । चौतर्फी दबाबका कारण श्रेष्ठमाथि कारवाही गर्ने निर्णयमा रास्वपा पुग्ने सो पार्टीसम्बद्ध स्रोतले बतायो । तर, नेताहरूले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
श्रेष्ठको अडियो सार्वजनिक भएपछि चितवन र बाराका चुनावी सभामा सभापति लामिछानेले आफ्नो नाम भजाएर कसैले बार्गेनिङ गर्दैमा त्यसको जवाफदेही नहुने भनेर प्रतिक्रिया दिएका थिए । उनले मन्त्री बनाउन सांसदसँग पैसा मागेको प्रमाणित भए 'गढीमाईमा बलि चढाउनू' भनी बारामा अभिव्यक्ति दिएका थिए ।
लामिछानेको स्पष्टीकरणपछि पनि श्रेष्ठले दाबी गरेको कोर टीमबारे प्रश्न सेलाएको छैन ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले यो प्रकरणबारे संसदीय छानबिनको माग गरेका छन् ।
‘विडम्बनाका साथ भन्नुपर्छ सांसद भइसकेको व्यक्तिले मन्त्री बन्नका लागि एउटा व्यवसायीसँग पैसा माग्नुभन्दा लज्जाबोध के हुन्छ ? त्यो वार्तामा भनिएको छ, कोर टिमलाई बुझाउनु पर्छ। कोर टीम भनेको को हो ? त्यसको छानबिन गर्नुपर्दैन सभामुख महोदय ?’ गुरुङले सोमवार प्रतिनिधि सभाको बैठकमा भनेका थिए, ‘प्रतिनिधि सभाको सदस्यले गरेको वार्तालाप, कमिसन र भ्रष्टाचार सन्दर्भमा संसद चुप लागेर बस्नु हुँदैन । संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्छ ।’
श्रेष्ठको अडियो प्रकरणबारे रास्वपाले आफ्ना सांसद र नेतालाई बोल्न पनि रोक लगाएको छ । सोमवार संसद् बैठकबाट बाहिरिने क्रममा केही सांसदले कोर टीमबारे जान्न आफूहरू पनि उत्सुक रहेको बताएका थिए।
पुराना संसदवादी दललाई ‘भ्रष्ट’को आरोप लगाउँदै भ्रष्ट नेतालाई जेलमा कोच्ने नारा लिएर चुनावमा गएको रास्वपा पहिलो चुनावमै संसदमा २० सिट ल्याउन सफल भएको थियो ।
रास्वपा सभापति लामिछानेले उपनिर्वाचनको मुखमा यो अडियो सार्वजनिक हुनुलाई पार्टीविरुद्ध षडयन्त्रको संज्ञा दिएका छन् । पछिल्लो तीन दिनका प्रत्येक चुनावी सभामा लामिछानेले यही अडियो प्रकरणको स्पष्टीकरण दिइरहेका छन् ।