१५ असार २०८३, सोमबार

‘ने–पेमाछाल’ उपत्यकामा पर्यटन प्रवद्र्धन गर्न कार्यक्रम

‘ने–पेमाछाल’ उपत्यकामा पर्यटन प्रवद्र्धन गर्न कार्यक्रम

संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल अन्तर्गतका ८ हिमालको आधार शिविर नजिक ने–पेमाछाल उपत्यकामा पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम आयोजना गरिएका छन् । 

शनिवार ने–पेमाछालमा आयोजित कार्यक्रममा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, सांसद माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमालकुमार श्रेष्ठ लगायतको सहभागिता थियो । 

ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्वको ने–पेमाछालमा लामा गुरुहरूले पूजा, जिन्लब, डुप्सी, छेवाङ तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि विधिपूर्वक विविध कार्यक्रम गरेको सिन्धु पर्यटन परिषद्का सचिव मिलन तामाङले जानकारी दिए । जुगल गाउँपालिकाका अध्यक्ष स्याङ्बोले नयाँ वर्षको अवसरमा ने–पेमाछालमा प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएकोे जानकारी दिए । यसबाट जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग मिल्ने उनले विश्वास व्यक्त गरे ।   

कार्यक्रममा सहभागिता जनाउन ४ दिनअघि नै हिँडेका आन्तरिक पर्यटक ने–पेमाछालमा जम्मा भएका थिए । गाउँपालिका आफैंले छानेका यात्रीलाई पालिका प्रमुख स्याङ्बो र उपाध्यक्ष श्रेष्ठले चनौटेस्थित रत्नराज्य माविबाट ४ दिनअघि बिदाइ गरेका थिए ।

विक्रम संवत् २०७५ सालबाट आरोहण खुला गरिएको जुगलअन्तर्गतका अन्य हिमालसमेत खुला गर्ने सरकारी निर्णयले यस क्षेत्रमा खुशी थपिएको छ । काठमाडौंबाट ३ दिनमै पुग्न सकिने नजिकको गन्तव्यका हिमाल आरोहण खुला गर्ने निर्णयले सिन्धु पर्यटनमा थप टेवा पुग्ने विश्वास गरिइएको छ ।

गत चैत २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले जुगल हिमालअन्तर्गत ‘जुगल १’ देखि ‘जुगल ५’ नामकरण भएका थप पाँच चुचुरा आरोहण खुला गर्ने र ५ वर्षसम्म शुल्क नलिने निर्णय गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्