१९ असार २०८३, शुक्रबार

महानगरको पार्किङस्थलमा ‘सीसी क्यामेरा’ जडान

महानगरको पार्किङस्थलमा ‘सीसी क्यामेरा’ जडान

विराटनगर महानगरपालिकाले पार्किङस्थललाई व्यवस्थित बनाउने क्रममा ‘सीसी क्यामेरा’ जडान गरेको छ । 

पार्किङस्थललाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले सीसी क्यामेरा जडान गरिएको महानगरले जनाएको छ ।

व्यापारीले पार्किङस्थललाई सुरक्षित र व्यवस्थित बनाउन माग गर्दै आएका थिए । पार्किङस्थललाई व्यवस्थित बनाउन व्यापारीहरूकै आग्रहमा केही दिनका लागि सडकको नो पार्किङको निर्णयलाई महानगरले स्थगन गरेको थियो ।

अब व्यवस्थित र सुरक्षित भइसकेकाले पूर्ववत् अवस्थामै सडकलाई पार्किङ निषेध गरिने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।

सीसी क्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालय र महानगरको नगर प्रहरी शाखामा रहनेछ । प्रमुख कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले कन्ट्रोल रूममा जडान गरिएको सीसी क्यामेरामार्फत पार्किङस्थलको अवलोकन समेत गरे ।
 
सीसी क्यामेरा जडानसहित पार्किङस्थलमा गिट्टी राखेर सम्याउने, बत्ती जडान गर्ने, पार्किङस्थलमा जाने नालीमाथि स्लाब राख्ने लगायतका कार्य सकिएको महानगरको प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए ।

महानगरले जलजला चोक पूर्व (साविक जुत्ता मेला लागेको ठाउँ) ग्रिनक्रस अस्पताल पछाडि, शनिमन्दिर दक्षिण तथा महावीर रोड उत्तर, पुरानो गुद्री, बुधहाटचोकस्थित वी प्लट, महावीर रोड र वी प्टलको बीचमा रहेको खाली जग्गा, आन्तरिक राजस्व कार्यालय अगाडिबाट पूर्व, सन्सारीमाईस्थान, हिमालय रोडस्थित मैनाली पुस्तक पसल अगाडिको बर्सना कम्प्लेक्सको अन्डरग्राउण्डलाई पार्किङका लागि तयारी गरिसकेको छ । पार्किङस्थलमा समस्या नरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए ।
 
शनिमन्दिरदेखि अस्पताल चोक, जलजलाचोकदेखि ट्राफिकचोक हुँदै सन्सारीमाईस्थान, महावीर रोड, गुद्री रोड, शनिमन्दिरदेखि महावीर रोड, कलेज रोड र हिमालयरोडलाई पार्किङ निषेध महानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको छ । 

विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा साथ दिन महानगर प्रमुख कोइरालाले आग्रह गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्